Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चिनको अर्थतन्त्र ओरालो बाटोतिर : आर्थिक बृद्धिदर घट्यो

admin २०८२ फाल्गुन २५ गते
सेयर:

बैंकिङ खबर / चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको लक्ष्य घटाएको छ। चिनियाँ सरकारले आगामी वर्षका लागि कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ४.५ देखि ५ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ, जुन सन् १९९१ पछिकै सबैभन्दा न्यून लक्ष्य मानिएको छ।

चीनका प्रधानमन्त्री ली किआङले राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकमा सम्बोधन गर्दै उक्त लक्ष्य सार्वजनिक गरेका हुन्। सो अवसरमा १५ औँ पञ्चवर्षीय योजनासम्बन्धी केही मुख्य विवरणहरू पनि प्रस्तुत गरिएको थियो। सन् २०२५ मा चीनले आर्थिक वृद्धिदरको लक्ष्य ५ प्रतिशत राखेको थियो।आर्थिक वृद्धिदर घटाउनु चीनको अर्थतन्त्र सुस्त बन्दै गएको संकेत हो। विगतमा चीनको अर्थतन्त्रमा घरजग्गा क्षेत्रको योगदान २५ देखि ३० प्रतिशतसम्म रहने गरेको थियो। तर पछिल्ला वर्षहरूमा यही क्षेत्र संकटमा परेकाले समग्र आर्थिक गतिविधि प्रभावित भएको बताइएको छ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका चिनियाँ अर्थशास्त्री तियानचेन सुले यो लक्ष्य यथार्थपरक भएको बताएका छन्। उनका अनुसार चीनले अहिलेको आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै सतर्क र व्यावहारिक लक्ष्य तय गरेको हो। कमजोर उपभोग, घट्दो जनसंख्या, घरजग्गा क्षेत्रको समस्या, विश्वव्यापी व्यापारिक तनाव र ऊर्जा संकट जस्ता कारणले चीनको अर्थतन्त्र दबाबमा परेको बताइएको छ। यद्यपि, बेइजिङले भविष्यमा प्रविधि र हरित ऊर्जामा केन्द्रित भएर अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने योजना बनाएको छ।

सरकारले प्रमुख उद्योगहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग विस्तार गर्ने, कार्बन उत्सर्जन घटाउने तथा वातावरणीय संरक्षणलाई बलियो बनाउने लक्ष्य पनि राखेको छ। साथै, शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गर्दै ‘बच्चा-मैत्री समाज’ निर्माण गर्ने योजना अघि बढाइएको बताइएको छ।चीन अहिले वृद्धवृद्धाको संख्या बढ्दै जानु र जन्मदर घट्दै जानुजस्ता जनसांख्यिक चुनौतीसँग पनि जुधिरहेको छ, जसले दीर्घकालीन आर्थिक वृद्धिमा थप दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।