
बैंकिङ खबर / बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा डिजिटल वालेट खल्तीका सह-संस्थापक अरविन्द साह प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भएका छन्।
निर्वाचन आयोगको मतपरिणामअनुसार साहले ४० हजार ६९७ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरलाई फराकिलो अन्तरले पराजित गरेका छन्। मंसुरले १० हजार ५२ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए। यस परिणामले बारा-३ मा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ।
४१ वर्षीय साह प्रविधि क्षेत्रका चर्चित उद्यमीका रूपमा परिचित छन्। उनले खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशकका रूपमा काम गर्दै आएका छन्। साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका छन्। प्रविधि उद्यमीको रूपमा स्थापित उनले यसपटक राजनीतिमा प्रवेश गर्दै बारा-३ बाट उम्मेदवारी दिएका थिए।
निर्वाचन अभियानका क्रममा उनले डिजिटल सुशासन, प्रविधिमार्फत सार्वजनिक सेवा सुधार, युवालाई रोजगारी सृजना तथा प्रविधिको प्रयोगमार्फत कृषि र स्थानीय अर्थतन्त्रको विकासलाई मुख्य एजेन्डा बनाएका थिए। उनले आधुनिक प्रविधि र नवप्रवर्तनमार्फत स्थानीय विकासलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थन मागेका थिए।
विजयी भएपछि साहले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै लेखेका छन्, “यो विजय कुनै एक व्यक्तिको विजय होइन, यो जनताको आवाज, जनताको भरोसा र परिवर्तनप्रतिको दृढ चाहनाको विजय हो। तपाईंहरूले देखाउनुभएको विश्वासले मलाई अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्ने प्रेरणा दिएको छ।” प्रविधि क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साहको यो जितलाई नयाँ पुस्ताका नेताको उदयका रूपमा पनि हेरिएको छ।



