Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

३१ बुँदे घोषणापत्रको जवाफ लिएर जनतासामु पुगे विनोद चौधरी।

admin २०८२ माघ २९ गते
सेयर:

बैंकिङ खबर/ पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षको कार्यकाल समेटिएको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्।

जेन-जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनमा तय आमनिर्वाचनको सन्दर्भमा उनले तीन वर्षअघि जनतासामु गरेका वाचाहरूको सार्वजनिक समीक्षा प्रस्तुत गर्दै आफू मतदाताका प्रश्नको सामना गर्न तयार रहेको बताएका छन्।

रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताले प्रश्न गर्न पाउनु लोकतन्त्रको मूल आत्मा भएको उल्लेख गरे। ‘गत निर्वाचनमा मैले गरेका प्रतिबद्धता अनुसार काम भयो कि भएन भनेर जनताले सोध्न पाउनुपर्छ। म जनताको अदालतमा उभिएर मेरो कामको जवाफ दिन तयार छु,’ उनले भने, ‘हामीले कांग्रेस बदलेका हौं, देश बदल्छौं भन्ने कुरा व्यवहारमा देखिनुपर्छ भन्ने बुझाइका साथ ३१ बुँदे घोषणापत्रका प्रत्येक बुँदाको प्रगति लिएर आएको हुँ।’

उनका अनुसार रिपोर्ट कार्डको डिजिटलप्रति सार्वजनिक भइसकेको छ भने प्रिन्ट कपी उनको सचिवालय, कांग्रेसको क्षेत्रीय कार्यालय, सम्बन्धित पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका सबै ३४ वडाका सम्पर्क कार्यालयमा उपलब्ध गराइनेछ। उनले प्रतिवेदन अध्ययन गर्न र जिज्ञासा भए टोल-टोलमै पुगेर प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन्।

नवलपरासी क्षेत्र नम्बर १ लाई विकास र समृद्धिको दृष्टिले लुम्बिनी प्रदेशकै नमुना निर्वाचन क्षेत्र बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता उनले जनाएका थिए। सो योजना अन्तर्गत छनोट गरिएका १५ गौरवका आयोजनामध्ये हाल १२ वटा कार्यान्वयन चरणमा रहेको जानकारी रिपोर्ट कार्डमा समेटिएको छ। राजमार्ग स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको विवरण पनि उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रमा चिसापानीस्थित ट्रमा सेन्टर चालु आर्थिक वर्षमै सम्पन्न हुने र चिसापानी अस्पतालको सेवा विस्तार गरिएको उल्लेख छ। यससँगै स्वास्थ्यसँग सम्बन्धित अन्य विभिन्न कार्यक्रमको विवरण पनि सार्वजनिक गरिएको छ।

औद्योगिक विकासका लागि बर्दघाट-५ मा साना तथा मझौला औद्योगिक ग्राम निर्माण भइरहेको उल्लेख गर्दै यसले स्थानीय रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

युवाहरुलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रमहरूको सूची पनि रिपोर्ट कार्डमा समावेश गरिएको छ। पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यअनुसार हुलाकी राजमार्ग र प्रतापपुर चक्रपथको निर्माण कार्यलाई तीव्रता दिइएको बताइएको छ।

युवा रोजगारी र स्वरोजगार प्रवर्द्धनका लागि ‘नबिल एसएसई’ र सिजी पोलिटेक्निकमार्फत सयौं युवालाई व्यावसायिक तालिम प्रदान गरिएको छ। महिलाका लागि ब्युटिसियन र सिलाइ-कटाइ जस्ता सिपमूलक कार्यक्रम सञ्चालन गरी स्वरोजगारका अवसर सिर्जना गरिएको बताइएको छ।

सुस्ता क्षेत्रका भूमिहीन नागरिकमध्ये हालसम्म २५० जनालाई लालपुर्जा वितरण गरिएको र बाँकीको हकमा पनि क्रमशः व्यवस्थापन गरिने प्रतिबद्धता चौधरीले व्यक्त गरेका छन्।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गरिएका प्रयासस्वरूप सर्वेक्षण सम्पन्न भएका ६ विद्यालयमा यसै वर्ष डिजिटल कक्षा र ई-पुस्तकालय सञ्चालनमा ल्याइने जनाइएको छ।

कृषि क्षेत्र सुधारका लागि नवलपरासीलाई ‘विशेष केरा जोन’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको र सुस्तामा केरामा आधारित उद्योग स्थापना गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढेको विवरण समेटिएको छ। उखु किसानका समस्या समाधान तथा सिँचाइका लागि गण्डक नहरको मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको पनि उल्लेख गरिएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।