२०८२ माघ ७ गते

अन्तराष्ट्रिय बैंकिङ परियोजनामा एसियाली पूर्वाधार लगानी बैङ्कको भूमिका

बैंकिङ खबर / विश्वमा धेरै ठुला पूर्वाधारमा लगानी जुटाउन र विश्व भरीका देशहरुलाई सहयोग गर्नेगरी खुलेका अन्तराष्ट्रिय बैंकिङ परियोजनाहरु मध्ये एसियाली पूर्वाधार लगानी बैङ्क एक हो । यसले सन्सारका धेरै देशहरुमा लगानी गरेको छ । जसको सहयोग नेपालमा समेत रहँदै आएको छ । एसियाली पूर्वाधार लगानी बैङ्क चीनको अग्रसरतामा एसिया र ओसिनिया क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रको सुधारका लागि पूर्वाधार विकास तथा अन्य उत्पादनमूलक गतिविधिमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको बहुपक्षीय विकास बैङ्क हो । यसको प्रधान कार्यालय बेइजिङमा छ । २०१६ जनवरीबाट सञ्चालनमा आएको यस बैङ्कका विश्वभर करिब एक सय स्वीकृत सदस्यहरू रहेका छन् । यस बैङ्कलाई प्रतिष्ठित तीन स्वतन्त्र विश्वसनीयता मापन गर्ने एजेन्सीले उम्दा दर्जा दिएका छन् । खासगरी चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ड एन्ड रोड इनिसिएटिभ अवधारणाअन्तर्गत सञ्चालन गरिने परियोजनाको वित्तीय स्रोत व्यवस्थापन गर्न यसलाई अघि सारिएको मानिन्छ। यसलाई विश्व बैङ्क र एसियाली विकास बैङ्कको प्रतिस्पर्धीका रूपमा पनि हेरीने गर्दछ ।

उक्त बैंक हाल संसारभरिकै मुलुकहरुका लागि लगानी जुटाउने नयाँ र दरिलो स्रोत बनेको छ । यस बैङ्कले हालसम्म आफ्ना सदस्य १८ देशका ४५ परियोजना स्वीकृत गरी ८ अर्ब ५० करोड अमेरिकी डलर लगानी गरिसकेको छ । ऊर्जा, पारवहन, खानेपानी, फोहर व्यवस्थापन, सहरी संरचना तथा सूचना प्रविधिमा सबैभन्दा बढी लगानी गरिएको छ । यस बैङ्कले नेपालमा ६४ करोड अमेरिकी डलर लागतको माथिल्लो त्रिशूली जलविद्युत आयोजना २१६ मेगावाटमा ३ करोड ९६ लाख अमेरिकी डलर ऋण लगानी गरेको छ । यसबाहेक तामाकोशी पाँचौँ आयोजनाको तयारीका लागि ९ लाख अमेरिकी डलर अनुदान दिएको छ । बैङ्कका सदस्य राष्ट्रले पाउने विशेष कोषबाट योसँगै नेपालको विद्युत प्रसारण लाइन सुदृढीकरणका लागि १० लाख अमेरिकी डलर ऋण दिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिणपूर्वी एसियाली मुलुकको भ्रमणका क्रममा इन्डोनेसिया पुगेर सन् २०१३ मा पहिलोपटक यस बैङ्कको अवधारणा सार्वजनिक गरेका थिए । विश्व आर्थिक मन्दीका बीच चीनमा विदेशी मुद्रा सञ्चिति बढाउनु यसको सुरुवाती अवधारणा थियो । सन् २०१४ को बोआओ फोरममा चिनियाँ प्रधानमन्त्री लि केक्वाङले यस बैङ्कको अवधारणामा एसियाबाहिरलाई पनि समेट्न चाहेको बताएका थिए । सन् २०१५ जुन २९ मा यस बैङ्कको विधानको समझदारीमा हस्ताक्षर भएको थियो, जुन २०१५ डिसेम्बर २५बाट लागू भयो । १ खर्ब अमेरिकी डलर अधिकृत पुँजी रहेको यस बैङ्कको चुक्ता पुँजी २० अर्ब डलर छ । यसमा नेपाल सहित विश्वका १०० मुलुक सदस्य छन् । चीनले नेतृत्व गरेको उक्त बैंकमा चीनको मात्रै ३० प्रतिशत स्वामित्व छ । यसमा जर्मनी, रूस, बेलायत, जस्ता युरोपेली मुलुक लगायत चीन, भारत, रुस, जर्मनी, कोरिया, अस्ट्रेलिया र फ्रान्स सर्वाधिक ठूला लगानीकर्ता छन् ।