
बैंकिङ खबर/अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) आज बैठक बस्दैछ। दुई दिने बैठकको निर्णय नेपाल समयअनुसार राति ११:३०–१२:०० बजे सार्वजनिक हुने अनुमान छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फेडले अमेरिकी अर्थतन्त्र सुस्त हुने र मूल्यवृद्धि दर घट्ने देखेर ब्याजदर ०.२५ प्रतिशत अंक घटाउने सम्भावना छ।
फेडको निर्णयले विश्व बजारमा असर पार्नेछ। अमेरिकी ब्याजदर घट्दा लगानीकर्ताहरू विकासशील मुलुकतर्फ आकर्षित हुन सक्छन्। नेपालमा विदेशी लगानी प्रवाह सहज हुन सक्ने भए पनि सीमित अवसर र नीतिगत अस्पष्टताका कारण प्रत्यक्ष लाभ सीमित रहने देखिन्छ।
रुपैयाँ र सुन/तेलको मूल्यमा असर
फेडले दर घटाएपछि अमेरिकी डलर कमजोर हुने सम्भावना छ, जसले नेपाली रुपैयाँ बलियो बनाउने सम्भावना छ। तर निर्यात महँगो र आयात सस्तो हुँदा व्यापार घाटा बढ्न सक्ने जोखिम छ।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएपछि तेलको मूल्य बढ्ने र सुनको आकर्षण घट्ने अनुमान गरिएको छ, जसले नेपाली बजारमा पनि असर पार्न सक्छ। बैठकपछि फेडका अध्यक्ष जेरोम पावेलले आगामी नीतिगत दिशा र अमेरिकी अर्थतन्त्रको अवस्थाबारे पत्रकार सम्मेलनमा जानकारी दिनेछन्।
