
बैंकिङ खबर/ महिला उद्यमी तथा व्यवसायी अन्जु सुवेदीले नेपालमा महिला उद्यमीहरूको अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै सरकारको नीति र व्यवहारिक असमानतामाथि तीव्र आलोचना गरेकी छन् ।
मिडिया इन्टरनेसनल नेपालद्वारा आयोजित वर्तमान अवस्थाः आर्थिक एवम् वित्तीय चुनौती विषयक अन्तरक्रियामा उनले महिलाको क्षमता, परिश्रम र सिर्जनशीलतालाई सरकारले कहिल्यै गम्भीरतापूर्वक नलिएको कारण आज पनि महिला उद्यमीहरू छायामा पारिएका बताइन् ।
सुवेदीले भनिन्,‘कुनै पनि महिलालाई सरकारले वास्तविक रूपमा सहयोग गरेको छैन ।’ उनले सरकारको महिलामैत्री नारा व्यवहारमा मात्र सीमित रहेको र ग्रामीण क्षेत्रदेखि शहरी बजारसम्म महिलाले उत्पादित वस्तु बजारमा पुर्याउन संघर्ष गर्नुपरेको बताइन् ।
भाटभटेनी जलेपछि महिलाको रोजगारीमा संकट
सुवेदीका अनुसार हालैको भाटभटेनी आगलागीले महिला उद्यमीहरूमा गम्भीर असर पारेको छ । उनले भनिन्, ‘भाटभटेनीमा काम गर्ने, वा आफ्ना उत्पादन बेच्ने धेरै महिलाहरू अहिले बेरोजगार बनेका छन् । उनीहरूको आम्दानी स्रोत नै बन्द भएको छ ।’
भाटभटेनीसँग सहकार्य गर्दै आफ्ना स्थानीय उत्पादन-जस्तै अचार, हस्तकला, कपडा, घरेलु वस्तु-बजारमा पुर्याउने महिलाहरू अहिले नयाँ बजारको खोजीमा छन् । तर राज्यका निकायहरूले उनीहरूको समर्थनमा कुनै ठोस कदम नचालेको सुवेदीको गुनासो छ ।
उनले भनिन्,‘सरकारले बजार व्यवस्थापन गर्न सकेको छैन। महिला उद्यमीहरूका उत्पादनका लागि कुनै वैकल्पिक प्लेटफर्म वा सहुलियतपूर्ण बजार खोलेको छैन ।’
बैंकको अविश्वास र महिला उद्यमीको संघर्ष
सुवेदीले वित्तीय संस्थाहरूमा महिलाप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । उनका अनुसार, बैंकहरू अझै पनि महिला उद्यमीलाई ‘जोखिमयुक्त’ ठान्छन् । उनले भनिन्, ‘निम्न वर्गका महिलाहरूलाई बैंकले विश्वास गर्दैन ।’
सुवेदीका अनुसार, धेरैजसो महिला उद्यमीहरूमा कानुनी डकुमेन्ट, जमानत, वा व्यावसायिक नवीकरणका कागजात अपूर्ण हुने भएकाले बैंकहरू उनीहरूलाई ऋण दिन हिचकिचाउँछन् । तर यसमा पनि लचिलोपनको माग गर्दै उनले भनिन्, ‘महिला दिदीबहिनी सबै फटाहा हुँदैनन् । जसले डकुमेन्ट पूरा गर्न सकेका छैनन्, उनीहरूलाई पनि बुझ्ने प्रयास गर्नुपर्छ ।’
उनले थपिन्, ‘बैंक र वित्तीय संस्थाहरूले महिलालाई केवल ऋणी होइन, साझेदारको रूपमा हेर्नुपर्छ । महिलाको आत्मनिर्भरता देशकै अर्थतन्त्रको मेरुदण्ड हो ।’
पहुँचविहीन महिलाका उत्पादन बजारमा पुग्दैन
सुवेदीले ग्रामीण र अर्धशहरी क्षेत्रमा रहेका महिलाहरूको उत्पादन बजारसम्म नपुगेको समस्या पनि उठाइन् । उनले भनिन्,‘पहुँच नपुगेका महिलाहरूले बनाएका सामग्री बजारमा पुग्दैनन् ।’
त्यस्ता महिलाहरूले कपडा, कृषि उत्पादन, घरेलु खाद्य वस्तु, हस्तकला र साना उद्योगका वस्तु उत्पादन गर्छन् । तर ती वस्तु वितरण गर्ने नेटवर्क नहुँदा स्थानीयस्तरमै बिक्री हुन सकेको छैन ।
‘बजारमा ठूला कम्पनीका वस्तु मात्र बिक्छन्, तर गाउँघरका महिलाले बनाएका सामानको मूल्य नत घरले चुकाउँछ नत राज्यले बुझ्छ,’सुवेदीले दुखेसो गरिन् ।
महिला उद्यमी सधैं छायामा
सुवेदीले भनिन्,‘महिला उद्यमी सधैं छायामा पर्ने गर्छन् । उनीहरूको संघर्ष देखिँदैन, सफलता नापिँदैन।’ उनका अनुसार, महिला उद्यमीहरूको कथा प्रचारमा आउँदैन, उनीहरूको उपलब्धि कहिल्यै राज्यको सम्मान सूचीमा पर्दैन ।
उनले थपिन्,‘पुरुष व्यवसायीले सफलता पाए ‘उद्योगपति’ भनिन्छ, महिला सफल भइन् भने ‘घरेलु काम’ भनेर हेपिन्छ ।’
त्यसैले, सुवेदीले नयाँ सरकार र नीति निर्माण तहले अब महिला केन्द्रित कार्यक्रम र बजार व्यवस्थापन प्रणाली ल्याउन जरुरी रहेको बताइन् ।
नयाँ सरकारप्रति अपेक्षा : महिला केन्द्रित नीति
सुवेदीले नयाँ सरकार गठनको तयारी भइरहेको भन्दै उनले भनिन्,‘अब महिला, विशेष गरी निम्न वर्गका दिदीबहिनीलाई लक्षित गरेर नीति बनाउनुपर्छ ।’
उनले थपिन्,‘नयाँ सरकारले महिलालाई लक्षित गर्दै बजार व्यवस्थापन, उत्पादन प्रवद्र्धन र वित्तीय पहुँचमा सुधार गर्नुपर्छ । उद्यमशील महिलाको हातमा शक्ति दिएर मात्र देशको अर्थतन्त्र मजबुत हुन सक्छ ।’
उनका अनुसार, बजार व्यवस्थापन भनेको केवल बिक्रीको प्लेटफर्म होइन, राज्य र निजी क्षेत्रबीचको समन्वय पनि हो । ‘सरकारले सहकारी, निजी क्षेत्र र स्थानीय तहसँग मिलेर महिला उत्पादनका लागि स्थायी बजार बनाउने नीति ल्याउनुपर्छ,’सुवेदीले भनिन् ।
‘महिला सक्षम छैनन् भन्ने सोच परिवर्तन गर्नुपर्छ’
सुवेदीले समाजमा अझै पनि ‘महिला उद्योग चलाउन सक्दैनन्’भन्ने धारणा मौलाएको भन्दै त्यसमा परिवर्तन गर्नुपर्ने बताइन् ।
उनले स्पष्ट भनिन्, ‘महिला व्यवसायमा सक्षम छैनन् भन्ने सोच गलत हो । जबसम्म समाजले महिलाको सीप र क्षमतामा विश्वास गर्दैन, तबसम्म उनीहरू पूर्ण रूपमा सक्षम हुन सक्दैनन् ।’
सुवेदीले उदाहरण दिँदै भनिन्, ‘आज धेरै महिला घरमै बसेर अनलाइन व्यवसाय सञ्चालन गर्छन्, हस्तकला बनाउँछन्, कृषि उत्पादन गर्छन् । तर उनीहरूलाई नत राज्यले देख्छ, नत बैंकले ।’