
बैंकिङ खबर/ देश अहिले आर्थिक र वित्तीय संकटको घेरामा छ । कहिले प्राकृतिक विपत्ति, कहिले महामारी र कहिले राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई निरन्तर अस्थिर बनाइरहेको छ । यही यथार्थलाई सम्बोधन गर्न मिडिया इन्टरनेशनल नेपालले ‘वर्तमान अवस्था र आर्थिक एवं वित्तीय चुनौतीहरू’विषयक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य नयनबहादुर क्षेत्रीले भने, ‘देश अहिले साँच्चिकै अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको छ । कहिले भूकम्प, कहिले कोरोना महामारी र राजनीतिक दलबीचको अस्थिरताले गर्दा आर्थिक विकास कसरी गर्ने भन्ने प्रश्न सबैका लागि चुनौती बनेको छ ।’
क्षेत्रीले विगत एक दशकदेखि देशको आर्थिक नीतिमा निरन्तरता र स्पष्टता नआएको कारण लगानीकर्तामा विश्वास हराउँदै गएको बताए ।
उनले भने,‘देशमा उद्योगहरू चलाउन कठिन भएको छ । पुँजी बैंकमा थुप्रिएको छ तर लगानीका अवसर सीमित छन् । तरलता समस्या होइन, समस्या त वातावरणको हो, लगानीमैत्री नीति र राजनीतिक स्थायित्वको अभावले व्यवसायीहरू अघि बढ्न डराउँछन् ।’
बैंकमा तरलता, उद्योगमा ठप्प अवस्था
क्षेत्रीले अर्थतन्त्रको विडम्बना औंल्याउँदै भने, ‘अहिले बैंकमा पर्याप्त तरलता छ । पैसा छ, तर त्यस पैसाले काम गर्न सक्ने अवस्था छैन । बैंकहरूले ऋण दिन खोजे पनि माग छैन, किनभने लगानीकर्ताले नतिजा नपाउने डर गरेका छन् ।’
उनका अनुसार उद्योग र व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थायित्व अत्यावश्यक छ । उनले थपे,‘हामीले स्थिर सरकार र स्पष्ट नीति नपाएसम्म लगानीकर्ताले ढुक्क भएर उद्योग खोल्दैनन् । सरकार परिवर्तन हरेक केही महिनामा हुने अवस्था रहिरहँदा कसरी दीर्घकालीन योजना बनाउन सकिन्छ ?’
क्षेत्रीले देशमा पुँजी बाहिरिने दर बढ्दो रहेको बताउँदै भने, ‘उद्योगीहरूको पुँजी बाहिरिँदैछ । कतिपयले भारत, दुबई, सिंगापुरजस्ता देशमा लगानी गर्न थालेका छन् । यसको अर्थ, हामीले आफ्नै देशमा लगानीमैत्री नीति बनाउन नसकेर आफ्ना स्रोत र साधन गुमाइरहेका छौँ ।’
रोजगारी अभाव र युवा पलायन
क्षेत्रीले अर्को ठूलो चुनौतीका रूपमा युवा पलायनलाई औंल्याए । देशका उत्पादक उमेरका लाखौँ युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन् ।
‘जब देशमा उद्योगहरू चल्दैनन्, रोजगारी सिर्जना हुँदैन । रोजगारी नभएपछि युवाहरू विदेश जान बाध्य छन् । अहिले स्थिति यस्तो छ कि गाउँगाउँमा काम गर्न सक्ने हात घट्दैछ । त्यसको असर प्रत्यक्ष रूपमा खपतमा परेको छ ,’ उनले भने ।
क्षेत्रीका अनुसार देशमा खपत घट्नु भनेको आर्थिक चक्र सुस्त हुनु हो । ‘जब खपत घट्छ, उत्पादन घट्छ । उत्पादन घट्दा उद्योग नाफामा रहँदैन । यसरी अर्थतन्त्रले आत्मविश्वास गुमाउँछ,’ उनले जोड दिए ।
राजनीतिक अस्थिरता : आर्थिक विकासको प्रमुख अवरोध
उनले देशको आर्थिक संकटको मूल कारण राजनीतिक अस्थिरता नै भएको बताए । देशमा सरकार पटक–पटक परिवर्तन हुनु, नीतिहरूमा निरन्तरता नआउनु र निर्णय कार्यान्वयनमा ढिलासुस्ती हुनुले लगानीकर्ताको मनोबल कमजोर बनाएको बताए ।
क्षेत्रीले भने, ‘हामीले ठूला नारा धेरै सुनेका छौँ, ‘आत्मनिर्भर अर्थतन्त्र’, ‘रोजगारी नेपालमै’, ‘विदेशी लगानी आकर्षण’ । तर यस्ता नारा कागजमै सीमित छन् । जब राजनीतिक नेतृत्व स्थिर हुँदैन, अर्थनीति पनि अल्पकालीन र अस्पष्ट हुन्छ । व्यवसायीहरू स्थायित्व खोज्छन्, अनिश्चितता होइन ।’
उनले थपे, ‘व्यवसायीलाई मुनाफा मात्र होइन, पूर्वानुमान गर्न सक्ने नीति चाहिन्छ । नीति आज अर्को र भोलि अर्को भएमा कसरी दीर्घकालीन लगानी सम्भव हुन्छ ?’
आन्तरिक उपभोग घट्दै, व्यापार घाटा बढ्दै
अर्थतन्त्रको अर्को गम्भीर पक्षमा कुरा गर्दै क्षेत्रीले भने, ‘देशमा उपभोग घट्दै गएको छ । उद्योगहरू उत्पादन गर्न नपाउने, बजारमा माग नहुने अवस्था छ । यसले व्यापार घाटा झन् बढाउँदै लगेको छ ।’ नेपालको व्यापार सन्तुलन विगत केही वर्षयता लगातार नकारात्मक रहेको छ ।
आयातमा निर्भरता बढ्दै गएको र निर्यात क्षमता बढाउन सरकार असफल भएकोमा उनले गुनासो गरे । ‘हामी उत्पादन गर्न सक्दैनौं, बेच्न सक्दैनौं । साना–साना उद्योग चलाउने वातावरण पनि छैन । यसरी कसरी अर्थतन्त्र टिक्छ ?’ क्षेत्रीले प्रश्न गरे ।
क्षेत्रीले आर्थिक संकट समाधानका लागि केही व्यावहारिक सुझाव पनि प्रस्तुत गरे । उनका अनुसार राजनीतिक स्थायित्व र नीति निरन्तरता सुनिश्चित गर्नुपर्छ । सरकार परिवर्तन भएपनि दीर्घकालीन आर्थिक नीतिहरू स्थिर रहनुपर्ने उनको सुझाव थियो ।
निजी क्षेत्रसँग सहकार्य
‘व्यवसायीलाई शंकाको नजरले होइन, साझेदारको रूपमा हेर्नुपर्छ,’,उनले भने, ‘सरकारले निजी क्षेत्रको सुझावलाई नीति निर्माणमा प्राथमिकता दिनुपर्छ ।’
क्षेत्रीले व्यवसाय सुरु गर्नका लागि अनुमति प्रक्रिया सरल र डिजिटल बनाउनुपर्ने बताए । ‘एक उद्योग खोल्न हप्तौँ कागज बोकेर हिँड्नु पर्यो भने लगानीकर्ता निराश हुन्छन् ।’
युवालाई रोजगारीका अवसर सिर्जना गरौं
‘युवा देशमै टिक्ने वातावरण बनेपछि मात्र उत्पादन बढ्छ । त्यसका लागि कृषि, पर्यटन र साना उद्योगलाई प्रोत्साहन दिनुपर्छ,’ उनले भने ।
नेपालले विदेशी लगानीकर्तालाई भ्रमित पार्ने होइन, प्रोत्साहित गर्ने नीतिहरू ल्याउनुपर्ने उनले बताए । त्यसका लागि कर नीति र कानुनी ढाँचा दुवै पारदर्शी हुनुपर्ने क्षेत्रीले सुझाए ।
क्षेत्रीले नेपालमा अझै पनि विकासको ठूलो सम्भावना रहेको बताए । ‘हामीसँग जलविद्युत्, पर्यटन, कृषि र मानवीय स्रोतजस्ता विशाल सम्भावनाहरू छन् । तर तिनलाई सदुपयोग गर्न नीति र दृष्टिकोण दुवैमा स्पष्टता आवश्यक छ ।’
उनले चीन र भारतजस्ता छिमेकी देशहरूको द्रुत आर्थिक वृद्धिको उदाहरण दिँदै भने, ‘छिमेकी मुलुकहरूले लगानीमैत्री नीति बनाएर उद्योगीहरूलाई आकर्षित गरिरहेका छन् । नेपाल पनि त्यही बाटोमा लाग्न सक्छ । तर त्यसका लागि पहिले आफ्नो घरभित्रको राजनीतिक अव्यवस्था अन्त्य गर्नुपर्छ ।’



