Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

admin २०८२ कार्तिक ७ गते
सेयर:

बैंकिङ खबर/नेपाली मूलका उद्यमी डा.समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युज मेशिन्सले अमेरिकी पुँजी बजार नास्डाकमा बिहीबारदेखि औपचारिक रूपमा स्टक कारोबार सुरु गरेको छ।

बौद्धिक कृत्रिमता सम्बन्धी प्रविधि विकास तथा सेवामा संलग्न फ्युज मेशिन्सले करिब दुई वर्षअघि CSLM Acquisition Corp. सँग गरेको मर्जर प्रक्रिया पूरा गर्दै बिहीबारदेखि “FUZ” नामको टिकरमार्फत नास्डाकमा कारोबार सुरु गरेको हो।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. समीर मास्के ले यस उपलब्धिलाई नेपाली उद्यमशीलताको विश्वस्तरको पहिचानका रूपमा लिएका छन्।
“नवीन सोच र अवधारणाबाट सानो समूहका रूपमा सुरु भएको हाम्रो प्रयास आज नास्डाकमा पुगेको छ,” डा. मास्केले भने, “यो उपलब्धिले आगामी दिनमा अझ नयाँ प्रेरणा र अवसरहरू सृजना गर्नेछ।”

नास्डाकमा सूचीकृत हुन पाउनु विश्वका प्रमुख वित्तीय कम्पनीहरूको सर्कलमा प्रवेश गर्नुजस्तै भएको उनले बताए। फ्युज मेशिन्सले नेपालमा समेत कृत्रिम बौद्धिकता (AI) र डेटा प्रविधिको विकासमा योगदान दिइरहेको छ।

हाल कम्पनीमा करिब ३५० जना कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमै कार्यरत रहेको डा. मास्केले जानकारी दिए। नास्डाकले पनि विज्ञप्ति जारी गर्दै CSLM Acquisition र Fusemachines बीचको मर्जर प्रक्रिया पूरा भइसकेको र बिहीबारदेखि नास्डाकमा कारोबार सुरु भएको उल्लेख गरेको छ।

मर्जरपछि कम्पनीको सञ्चालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।
त्यसैगरी कम्पनीको प्रमुख वित्त अधिकृत (CFO) क्रिष्टिन च्याम्बर्स रहेका छन्।

फ्युज मेशिन्सको नास्डाक प्रवेशसँगै नेपाली उद्यमीले स्थापना गरेको प्रविधि कम्पनीले विश्व बजारमा औपचारिक प्रवेश पाएको छ। यसले नेपालमा प्रविधि, रोजगारी र लगानीका नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।