
बैंकिङ खबर/ आर्थिक गतिविधि विस्तार हुन नसके पनि नेपालका आन्तरिक र बाह्य आर्थिक सूचकहरू सबल देखिएका छन्। रेमिट्यान्स आप्रवाह र निर्यातमा देखिएको उल्लेखनीय वृद्धि तथा मूल्यवृद्धि नियन्त्रणमा रहँदा अर्थतन्त्र स्थायित्वतर्फ उन्मुख देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनासम्म उपभोक्ता मूल्यवृद्धि १.८७ प्रतिशतमा सीमित छ। यो अघिल्लो आवको सोही अवधिको ३.८६ प्रतिशत भन्दा झन्डै आधा हो। भदौसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ऋणात्मक १.३४ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ।
रेमिट्यान्समा ३३ प्रतिशत वृद्धि
राष्ट्र बैंकका तथ्यांकअनुसार चालु आवको दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो। गत साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्स भित्रिएकोमा भदौमा थप १ खर्ब ७४ अर्ब ६७ करोड भित्रिएर कुल रेमिट्यान्स साढे ३ खर्ब रुपैयाँ पुगेको हो।
निर्यातमा ८८.६ प्रतिशत वृद्धि
नेपालको निर्यात क्षेत्रले पनि उच्च सुधार देखाएको छ। चालु आवको दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
विदेशी विनिमय सञ्चिति बलियो
विदेशी विनिमय सञ्चिति पनि सबल बनेको छ। २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई भदौ मसान्तसम्म २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ। अमेरिकी डलरमा यो वृद्धि ४.७ प्रतिशत हो, जसअनुसार सञ्चिति २० अर्ब ४१ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
निजी क्षेत्रको कर्जा विस्तार सुस्त
निजी क्षेत्रमा कर्जा प्रवाह विस्तार हुन नसकेको देखिएको छ। भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह ४९ अर्ब २४ करोड (०.९%) मात्र बढेको छ। गत आवको सोही अवधिमा कर्जा विस्तार ७३ अर्ब ३९ करोड (१.४%) भएको थियो। चालु आव साउनमा भने कर्जा प्रवाह २ अर्ब ९३ करोडले घटेको थियो।
डिजिटल भुक्तानीमा तीव्र वृद्धि
चालु आव भदौसम्म डिजिटल भुक्तानीमा उल्लेखनीय वृद्धि भएको छ।
डेबिट कार्ड : १ करोड ८ लाख कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ भुक्तानी।
मोबाइल बैंकिङ : ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ कारोबार।
क्यूआर कोड : ४ करोड १० लाख कारोबारमार्फत १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ भुक्तानी।
शोधनान्तर स्थिति सकारात्मक
भदौसम्मको शोधनान्तर स्थिति (Balance of Payments) १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ। गत आवको सोही अवधिमा यो १ खर्ब १ अर्ब ७७ करोडले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा शोधनान्तर स्थिति १ अर्ब १० करोड डलर बचतमा पुगेको छ।
समग्रमा हेर्दा, निजी क्षेत्रको कर्जा विस्तार सुस्त रहे पनि रेमिट्यान्स, निर्यात, मूल्यवृद्धि नियन्त्रण र विदेशी विनिमय सञ्चिति वृद्धिले नेपालको अर्थतन्त्रलाई सबल देखाएको विश्लेषकहरू बताउँछन्।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Two-Month-data-of-2082.83