२०८२ आश्विन २७ गते

गभर्नरलाई कसैले दिएनन् भाडामा घरः दोस्रो पटक थपियो प्रस्ताव पेश गर्ने म्याद

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर दिन काठमाडौंबासी तयार नभएको पाइएको छ । राष्ट्र बैंकले खोजेजस्तो घर नपाइएको र घरधनीले पनि कुनै चासो नदिएपछि पुनः सूचना प्रकाशित गरी घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्ने म्याद थपेको छ । सोमबार प्रकाशित सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछ । यसअघि यस्तो प्रस्ताव बुझाउने अन्तिम म्याद असोज २७ गते तोकिएको थियो।

जेनजी आन्दोलनका क्रममा गभर्नर पौडेलको ललितपुर भैंसेपाटीस्थित घरमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनी घरविहीन बनेका छन्। घटना लगत्तै उनले पत्नी र छोरीलाई अमेरिका पठाएका छन् भने आफैं थापाथलीस्थित राष्ट्र बैंकको एक कोठामा बस्दै आएका छन्।

राष्ट्रबैंकले भाडामा खोजेको घर ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा हुनुपर्ने उल्लेख छ । घरमा कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा, ५ वटा सवारीसाधन पार्किङको व्यवस्था, र १००० वर्गफिटभन्दा बढी प्लिन्थ क्षेत्रफल भएको आरसीसी स्ट्रक्चर हुनुपर्नेछ ।

त्यसैगरी, घरमा कम्तीमा एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररूम, र सुरक्षाकर्मी बस्ने छुट्टै भवन हुनुपर्ने मापदण्ड राखिएको छ। घर सुरक्षित कम्पाउन्डवालले घेरिएको, कालोपत्रे सडकसँग जोडिएको, र बिजुली, ढल निकास तथा खानेपानीको पर्याप्त व्यवस्था भएको २.५ देखि ३ तले हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

House-Rent-time-extension-notice