
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाई इजाजतपत्र बिना विदेशी मुद्राको कारोबार नगर्न सचेत गराएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी मुद्रा कारोबार गर्न सकिने स्पष्ट गरेको हो।
सूचनामा भनिएको छ, “क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु/गराउनु हुन यो सूचना प्रकाशित गरिएको हो।”
राष्ट्र बैंकले क्यासिनोहरूलाई विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने व्यवस्था ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद–४ मा उल्लेख गरिएको बताएको छ।
बैंकले विदेशी विनिमयको इजाजतपत्र नलिई कारोबार गर्ने कार्य कानुन विपरीत हुने चेतावनी दिँदै त्यसविरुद्ध कारबाही गरिने जनाएको छ।
notice-20820624
