March 25th, 2016

कुनकुन क्षेत्रमा लगानी गर्छन् चिनियाँ बैँकहरु ? (विवरणसहित)

peoples-bank-of-china-newपछिल्लो दुई दशकयता चिनको बैँकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैँकहरु गइसकेका छन् । पिपुल्स बैँक अफ चाइना (पीबीओसी) चिनको केन्द्रिय बैँक हो । सबै चिनियाँ बैँकहरुको नियामक संस्थाको रुपमा यस बैँकले काम गर्दै आएको छ । बैँकका कर्मचारीहरुको पारिश्रमिक निर्धारण गर्ने, वित्तिय संस्थाहरुलाई नियमन गर्ने, बैँकिङ क्षेत्रको व्यवस्थापन, विदेशी विनिमय दरको व्यवस्थापन, सुन रिजर्भ लगायतका कामहरु गर्ने गर्दछ । विदेशी विनिमयसम्बन्धि नितीहरु बनाउनको लागि यस बैँकले स्टेट एडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्ज पनि हेर्ने गर्दछ । सन् १९९५ को सेन्ट्रल बैँक ल का अनुसार, पीबीओसीसँग बैँकहरुको व्याजदर तय गर्ने लगायतको सम्पूर्ण नियामक कामकारबाहीहरुमा एकाधिकार रहेको छ ।

स्टेट काउन्सिलले पीबीओसीका नीति तथा नियमहरुको निगरानी गर्ने गर्दछ । चाइना बैँकिङ रेगुलेटरी कमिसन पीबीओसीको निगरानीका लागि २००३ को अप्रिल २८ तारिखका दिन औपचारिक रुपमा गठन भएको थियो । यस कमिशनको मूख्य उद्देश्य भनेको सम्पूर्ण बैँकहरुको सुपरभिजनलाई अझ व्यवस्थित बनाउनु तथा वृहत अर्थतन्त्र र करेन्सी पोलिसीमा बढी ध्यान दिनको लागि पीबीओसीलाई सहयोग पुर्याउनु थियो । 

सबै आर्थिक क्षेत्रलाई वित्तिय प्रणालीमा समेट्दै चिनियाँ सरकार
चीनका चारवटा कमर्सियल बैँकहरु सरकारी स्वामित्वमा रहेका छन् । बैँक अफ चाइना, चाइना कन्स्ट्रक्सन बैँक, इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना र एग्रिकल्चरल बैँक अफ चाइना चिनको सरकारी स्वामित्वमा भएका बैँकहरु हुन् । यी बैँकहरुलाई व्यवसायिकरण गर्नको लागि सन् १९९५ मा चिनियाँ सरकारले कमर्सियल बैँक ल ल्याएको थियो । यी बैँकहरुले विशिष्ट उद्देश्यका साथ छु्ट्टा छुट्टै क्षेत्रलाई केन्द्रमा राखेर सेवा अघि बढिरहेका छन् । 

इन्डस्ट्रीयल एण्ड कमर्सियल बैँक अफ चाइना चिनको सबैभन्दा ठूलो बैँक हो । अन्य सरकारी वाणिज्य बैँकहरुभन्दा यो बैँक केही पृथक रहेको छ । चिनको सहरी भेग र उत्पादनमूलक क्षेत्रमा सेवा दिने यो प्रमुख वित्तिय संस्था हो । बैँक अफ चाइना विदेशी विनिमय कारोबार र व्यापारिक वित्तिय कारोबारमा केन्द्रित छ । त्यस्तै, चाइना कन्स्ट्रक्सन बैँक मध्यमदेखि दीर्घकालीन क्रेडिट र पूर्वाधार विकास, सहरी विकास लगायतका दीर्घकालीन प्रोजेक्टहरुलाई केन्द्रमा राखेर लगानी तथा कारोबार गर्ने गर्दछ भने एग्रिकल्चरल बैँक अफ चाइनाले मुलुकभित्रको कृषि क्षेत्रलाई आफ्नो लगानीको केन्द्र बनाएर कारोबार गर्दै आइरहेको छ । साथै, कृषक, ग्रामीण तथा साना उद्यमी र ग्रामीण संस्थाहरुलाई होलसेल तथा रिटेल बैँकिङ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यसरी चिनको बैँकिङ क्षेत्रले सबै आर्थिक क्षेत्रलाई समेटेको छ । सबै क्षेत्रको समान र सन्तुलित विकासलाई ध्यानमा राख्दै चिनियाँ सरकारले नै बैँकिङ सेवा सञ्चालन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]