२०८२ भाद्र १९ गते

सेयर धितो कर्जा के हो ?, कसरी लिन सकिन्छ ? (पूर्ण विवरणसहित)

बैंकिङ खबर/ सेयर धितो कर्जा भन्नाले कुनै व्यक्तिले आफूले शेयर बजारमा खरिद गरी राखेका सेयरहरूलाई बैंक वा वित्तीय संस्थामा धितो राखेर लिने कर्जालाई बुझिन्छ । साधारण भाषामा भन्नुपर्दा, तपाईंले खरिद गरेका सेयरलाई ‘जमानत’ राखी बैंकसँग ऋण लिने प्रक्रिया नै सेयर धितो कर्जा हो । नेपालमा पूँजीबजार विस्तारसँगै धेरै लगानीकर्ताहरूले सेयरमा लगानी गरेका छन् । ती सेयरहरूलाई धितो राखेर बैंक वा वित्तीय संस्थाबाट तत्काल नगद प्राप्त गर्न सकिन्छ । यसलाई कतिपयले ‘मार्जिन लोन’पनि भन्ने गर्छन् ।

बैंकहरुले बढाए सेयर धितो कर्जा

गत आर्थिक वर्ष २०८१/८२ मा सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा ५० अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्षसम्म बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । एक वर्षमै सेयर कर्जा ५६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कर्जा ठूला ऋणीमा उच्च दरले बढेको छ । १ करोडमाथिको सेयर कर्जा ७६.९ प्रतिशतले बढेको छ । असार मसान्तसम्म १ करोडमाथिको कर्जा ९८ अर्ब ९२ करोड प्रवाह भएको छ । ५० लाखदेखि १ करोडसम्मको कर्जा २९ प्रतिशतले बढेको छ । यो सीमाको कर्जा असार मसान्तसम्म १६ अर्ब २ करोड पुगेको छ । २५ देखि ५० लाखसम्मको कर्जा २१.८ प्रतिशतले बढेर १७ अर्ब ५६ करोड पुगेको छ भने २५ लाखमुनिको कर्जा ११.८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् । संस्थाका हकमा यस्तो सीमा छैन । समग्रमा एउटा बैंकले सेयर धितो कर्जामा कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै दिन पाउने व्यवस्था छ । जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन/पाइँदैन ।

नेगेटिभ नेटवर्थ (१ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्जमा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको एक वर्षसम्म लेखा परीक्षण नगरेका, पछिल्लो तीन वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक सञ्चालनमा आएको एक वर्ष पूरा नभएका, तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले यस्तो मार्जिन कर्जा दिन नपाउने व्यवस्था छ । यही आधारमा मार्जिन कर्जा पाउने कम्पनीको सूची नेप्सेले वर्षेनी सार्वजनिक गर्दै आएको छ ।

अर्कातर्फ, कर्जा अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणी आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको एक वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।

कर्जा रकम दिँदा सेयर मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १ सय ८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यही रकमको ७० प्रतिशत मात्रै बैंकहरूले सेयर धितोमा कर्जा दिने हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशतभन्दा बढी सेयर धितो राखी कर्जा लिन पाउँदैनन् । त्यतिमात्र नभई धितो राखिएको सेयरको मूल्य तल झरे बैंकहरूले धितो थप्न वा कर्जा चुक्ताका लागि मार्जिन कल गर्न सक्छन् ।

सेयर धितो कर्जा किन आवश्यक पर्छ ?

तरलता प्राप्त गर्न

सेयरमा लगानी गरेका लगानीकर्तासँग कागजी सम्पत्ति हुन्छ, तर नगद अभाव पर्न सक्छ । यस्तो अवस्थामा सेयर धितो कर्जा लिएर नगद जुटाउन सकिन्छ ।

नयाँ लगानीका लागि

लगानीकर्ताले थप सेयर किन्न वा अन्य व्यवसाय विस्तार गर्न तत्काल रकम चाहिन्छ भने सेयर धितो कर्जा उपयोग गर्न सकिन्छ ।

व्यक्तिगत आवश्यकताका लागि

घर–परिवारका खर्च, शिक्षा, स्वास्थ्य, घर निर्माण वा आपतकालीन अवस्थामा नगद आवश्यक भए पनि सेयरलाई बेच्न नपरी कर्जा लिन सकिन्छ ।

कसरी लिन सकिन्छ ?

सेयर धितो कर्जा लिनको लागि तपाईंको नाममा डिम्याट खातामा सेयर हुनुपर्छ । ती सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीभूत कम्पनीका हुनुपर्छ ।

लगानीकर्ताको प्यान कार्ड, नागरिकता, केवाइसी विवरण पूरा हुनुपर्छ ।

तपाईंले सम्बन्धित बैंक वा वित्तीय संस्थामा धितो कर्जा लिन आवेदन दिनुपर्छ ।

बैंकले तपाईंले धितो राख्न चाहेको सेयरको बजार मूल्य र धितो मूल्य हेर्छ । सामान्यतया ५०प्रतिशत देखि ७० प्रतिशतसम्म सेयरको बजार मूल्यलाई आधार मानेर कर्जा दिइन्छ ।

उदाहरणः तपाईंको सेयरको बजार मूल्य १० लाख छ भने, बैंकले अधिकतम करिब ५ देखि ७ लाखसम्म कर्जा दिन सक्छ । त्यसपछि आवश्यक कागजात र मूल्यांकनपछि बैंकले कर्जा स्वीकृत गर्छ ।
स्वीकृत भएपछि रकम तपाईंको खातामा जम्मा हुन्छ वा तपाईंले चाहेको ठाउँमा भुक्तानी गरिदिन्छ ।

आवश्यक कागजातहरू

-नागरिकता प्रमाणपत्र (प्रमाणित प्रतिलिपि)

-डिम्याट खाता नम्बर

-सिआरएन नम्बर

-शेयर विवरण(बीओआइडि) सहित)

-बैंकले मागेअनुसारको केवाइसी फर्म

-तलब आय, व्यापार दर्ता वा आयस्रोत खुलाउने कागजात (आवश्यक भएमा)

सेयर धितो कर्जाका विशेषता

धितो सेयर हुने – अन्य धितो कर्जामा जग्गा वा घर राख्नुपर्ने हुन्छ, तर यसमा सेयर नै धितो हुन्छ ।

छिटो प्रक्रिया – कर्जा छिट्टै उपलब्ध हुन्छ किनकि सम्पत्ति मूल्यांकन गर्न सजिलो हुन्छ ।

जोखिम – बजार मूल्य घटेमा बैंकले थप धितो माग्न सक्छ वा सेयर बिक्री गरेर रकम असुल गर्न सक्छ ।

लचिलो प्रयोग – प्राप्त रकमलाई लगानीकर्ताले आफ्नो आवश्यकताअनुसार प्रयोग गर्न सक्छ ।

फाइदा

-तत्काल नगद उपलब्धता

-सेयर बेच्न नपरी नगद उपयोग गर्न पाइने

-छिटो र सरल प्रक्रिया

-पुनः भुक्तानी गरेपछि सेयर आफ्नो नाममै रहने

चुनौती र जोखिम

बजार जोखिमः सेयरको मूल्य घट्दा बैंकले मार्जिन कल गर्न सक्छ, जसले थप धितो राख्न वा सेयर बेच्नुपर्ने अवस्था आउन सक्छ ।

उच्च ब्याजदरः सामान्य ऋणको तुलनामा मार्जिन लोनमा ब्याजदर प्रायः बढी हुन्छ ।

नोक्सानको सम्भावनाः कर्जा लिएर फेरि सेयरमा लगानी गर्दा बजार ओरालो लागे ठूलो घाटा हुन सक्छ ।

सेयर धितो कर्जा आधुनिक वित्तीय प्रणालीमा उपलब्ध महत्वपूर्ण सुविधा हो । यसले लगानीकर्तालाई सेयर नबेचिकन नगद जुटाउने अवसर दिन्छ । तर, यससँग जोखिम पनि जोडिएको हुन्छ । बजार मूल्य घट्दा थप धितो राख्नुपर्ने वा सेयर हराउन सक्ने सम्भावना रहन्छ । त्यसैले, सेयर धितो कर्जा लिनु अघि आफ्नो आर्थिक अवस्था, कर्जा तिर्ने क्षमता, र बजारको जोखिम बुझेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ ।