
बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले भदौ ८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दैछ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो । यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ । बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन् ।
केन्द्रीय बैंकले सातामा ३ पटक बैंकहरुको लागि स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा रहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट केन्द्रीय बैंकले निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत आधार बिन्दुले घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।
यस्तै चालु आर्थिक वर्ष लागेपछि केन्द्रीय बैंकले ४२ खर्ब ९४ अर्ब ५० करोड रुपैयाँ बराबर तरलता प्रशोचन गरिसकेको छ । बैंकहरुले अधिक तरलता भएर केन्द्रीय बैंकको निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुधिवामा लगानी गरेको मौज्दात ६ खर्ब ४३ अर्ब २५ करोड रुपैयाँ छ ।
कुन दिनमा कति पैसा खिच्यो

‘यसले अर्थतन्त्र गतिशील हुँदैन’

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता खिच्दा अर्थतन्त्र गतिशिल नहुने बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले तरलता खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन सक्दैन् ।’ पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दामाथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको समेत बताए ।
छैन लगानीमैत्री वातावरण, बैंकमा थुप्रियो पैसा

लगानीमैत्री वातावरण नहुँदा यतिबेला बैंकमा पुँजी थन्किन थालेको छ । व्यावसायिक र उद्योगी क्षेत्रले आवश्यक परिमाणमा लगानी गर्न नसक्दा बैंकमा तरलता उपलब्ध भए पनि त्यसको उपयोग हुन सकेको छैन ।
अर्थतन्त्रको गतिशीलता र रोजगारी सिर्जनामा समेत प्रभाव पर्ने खतरा बढेको छ । बैंकहरुले ठूलो परिमाणमा ऋण दिने तयारी गरे पनि लगानीका अवसरको अभाव र उच्च जोखिमको कारण धेरै ऋण वितरण गर्न सकिरहेको छैन । उद्योगी तथा व्यवसायीहरुले नीति र प्रक्रियागत जटिलताका कारण नयाँ लगानी गर्न डर मानिरहेका छन् ।
यसै कारण बैंकमा नाफाका दृष्टिले लाभदायक तरलता त पर्छ, तर त्यसको सही उपयोग हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीमा कुल तरलता पर्याप्त छ ।
हाल समग्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग ७ खर्ब १६ अर्ब हाराहारी रुपैयाँ कर्जा प्रवाह गर्ने क्षमता छ । बैंकहरूको लगानीयोग्य क्षमता (तरलता) खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६.२० प्रतिशतमा सीमित छ ।
नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन् । यो भनेको बैंकले १ सय रुपैयाँको निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउनु हो । तर, यसअनुसार अहिले बैंकहरूसँग पर्याप्त क्षमता अर्थात् १३.८ प्रतिशतको कुसन छ ।
यस्तै, बैंकिङ प्रणालीमा निक्षेप संकलन पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थको कुल निक्षेप ७२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।
यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकको मात्रै ६४ खर्ब ७४ अर्ब निक्षेप संकलन भएको छ । यसबाहेक विकास र वित्त कम्पनीहरूको ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसरी निक्षेप बढेको छ कर्जा प्रवाह गर्ने क्षमता हुँदा पनि थप ऋण बढेको छैन ।
हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ५५ खर्ब ८० अर्ब रुपैयाँ लगानी छ । यसमध्ये वाणिज्य बैंकको मात्रै ४९ खर्ब ५९ अर्ब रुपैयाँ लगानीमा छ । यसबाहेक ६ अर्ब २१ अर्ब रुपैयाँ कर्जा विकास र वित्त कम्पनीमार्फत प्रवाह भएको छ ।
व्यावसायिक र औद्योगिक क्षेत्रमा लगानीको अभावले गर्दा बैंकको पुँजी केवल ‘थन्किएको’ अवस्थामा रहेको देखिएको छ । बैंकहरूले आफ्ना आम्दानीका स्रोतमा ध्यान दिनुपर्ने भए पनि उच्च ऋण वितरण नहुँदा ब्याज मार्जिनमा असर पर्न थालेको छ।
लगानीमैत्री वातावरण बनाउन सरकारी नीति र प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बैंकर्सहरु बताउँछन् । व्यवसाय दर्ता प्रक्रिया सरल बनाउने, कर व्यवस्था स्पष्ट गर्ने, लगानीमा अनिश्चितता घटाउने र पूर्वाधार विकासमा ध्यान दिने जस्ता उपायले मात्र निजी क्षेत्रले बैंकबाट ऋण लिएर उत्पादनमा लगानी गर्न प्रोत्साहित हुने उद्यमी, व्यवसायीहरु बताउँछन् । यदि सरकारले यस्ता सुधार नगरे, भने बैंकको पुँजी लामो समयसम्म उपयोगबिनै थन्किएको रहन सक्छ।
साना व्यवसायी र स्टार्टअपहरू पनि बैंकबाट ऋण पाउन कठिनाइ अनुभव गरिरहेका छन्। बैंकर्सहरुका अनुसार जोखिम मूल्याङ्कन गर्दा उनीहरूले कम लाभ र उच्च जोखिमको कारण ऋण दिन हिचकिचाइरहेका छन्। यसले गर्दा अर्थतन्त्रमा नयाँ व्यवसाय खोल्ने वा विस्तार गर्ने अवसर घटेको छ।
सरकारको नीतिगत अस्थिरता र राजनीतिक हस्तक्षेपले पनि लगानी वातावरण कमजोर भएको भन्दै विभिन्न उद्योगी सङ्गठनले आलोचना गरेका छन्। यस्ता अस्थिरता र अनिश्चितताले लगानीकर्तालाई दीर्घकालीन योजना बनाउनबाट रोकिरहेको छ। फलस्वरूप बैंकको पुँजी उत्पादनशील क्षेत्रमा नजाँदा मुलुकको आर्थिक वृद्धिदरमा प्रत्यक्ष असर पर्न थालेको छ।
लगानीमैत्री वातावरण निर्माण गर्न नीति स्थिरता, प्रशासनिक प्रक्रिया सरलीकरण र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपाने अधिक तरलताको प्रभावकै कारण बैंकहरुको ब्याजदर निरन्तर घटेको बताउँछन् ।
लामो समयदेखि अधिक तरलता भएकाले अब संरचनागत रूपमा लामो अवधिबाट रकम खिच्दा उपयुक्त हुने देखिएको उनको भनाइ छ । उनका अनुसार अर्थतन्त्र चलायमान हुँदै जाँदा अधिक तरलता कम हुन सक्छ । उनी भन्छन्, ‘कर्जा प्रवाह बढ्दै जानुप¥यो । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात बढ्दै गए पनि तरलता प्रयोग हुँदै जान्छ । यद्यपि, लगानी बढ्दै गए आन्तरीक उत्पादनमा प्रोत्साहन हुन्छ । अहिले ब्याजदर कम हँुदा पनि कर्जा नजानुले यसको कारण यसअघिको बढी ब्याजदरमात्रै नभएको देखियो । कसैको खर्च कसैको आम्दानी हो ।’
बैंकिङ तरलता के हो ? किन आउँछ समस्या ?

निक्षेपकर्ताले मागेको बखत नगद दिन सक्ने बैंकको क्षमता नै तरलता हो । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।
यसरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण रहेको हुन्छ । साथै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ ।
कुनै पनि देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । तरलता बढ्यो भने ब्याजदर घट्छ र मुद्रास्फीति बढ्छ । साथै, तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतिमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ ।
तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् । तरलता न्युन हुनु मात्रै नभएर अधिक हुनु पनि समस्या नै हो ।
अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्दछ । फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्दछन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् ।
उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ । एकातिर उपभोग बढेपछि बढ्ने आयातले मुलुकको भुक्तानी सन्तुलनमा समेत असर पुर्याउँछ भने अर्कोतर्फ उपभोग बढेपछि हुने मूल्यवृद्धि नियन्त्रण गर्न पनि कठिन पर्ने हुन्छ । समग्र मूल्यस्तरमा हुने वृद्धिले छिट्टै मुद्रास्फीतिको अवस्थासमेत सृजना हुन्छ ।
अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पूँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।
तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ । विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रभाव गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरि तरलता प्रशोचन गरिन्छ ।
बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थितिदेखिन आएमा खुला बजार कारोबार सञ्चालन समितिकोनिर्णयानुसार बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न निक्षेप संकलन गरिन्छ वा सोझै विक्री उपकरण प्रयोग गरिन्छ ।
त्यस्तै, सोझै खरिद उपकरणमार्फत तरलता प्रभाव गरिन्छ । यसबाहेक, राष्ट्र बैंकले ऋणपत्रहरुमार्फत पनि तरलता व्यवस्थापन गर्दछ । यसबाहेक, व्याजदर करिडोर, सीसीडी रेसियो, अन्तरबैंक कारोबार लगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गर्दछ ।
