२०८२ श्रावण ३१ गते

वाणिज्य बैंकहरुको लाभांश क्षमता ३८ प्रतिशतसम्म, यस्तो छ खराब कर्जाको अवस्था ?

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार बैंकहरुको कुल नाफा अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशतले बढेर ७१ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए।

सार्वजनिक विवरण अनुसार १६ वटा बैंकको नाफा बढेको छ भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, एनआइसी एशिया र सिटिजन्स बैंकको नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा रह्यो। यसले ७ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६ अर्ब ७५ करोड) र तेस्रोमा ग्लोबल आइएमई बैंक (६ अर्ब २० करोड) रहेका छन्। प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड, कृषि विकास बैंकले ४ अर्ब १५ करोड र लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन्।

यसैगरी, प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड, नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबी बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्डले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड नाफा कमाएका छन्।

नेपाल एसबिआईले १ अर्ब ८० करोड, हिमालयन बैंकले १ अर्ब ५१ करोड, सिटिजन्स बैंकले १ अर्ब २९ करोड र एनआइसी एशियाले १६ करोड १५ लाख नाफा आर्जन गरेका छन्।

लाभांश क्षमतामा एभरेष्ट शीर्षमा

लाभांश क्षमताको आधारमा एभरेष्ट बैंक पहिलो स्थानमा रह्यो। यस बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ, जसको आधारमा लाभांश क्षमता ३८.२७ प्रतिशत देखिएको छ।

तर, चार बैंक — नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंक  भने लाभांश दिन नसक्ने अवस्थामा पुगेका छन्। नबिल बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, सानिमा बैंकको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १९.८५ प्रतिशत, ग्लोबल आइएमईको १४.११ प्रतिशत र एनएमबी बैंकको १०.४१ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

खराब कर्जा ७ प्रतिशत नाघ्यो

बैंकहरुको खराब कर्जा दर पनि उच्च देखिएको छ। हिमालयन बैंकको खराब कर्जा ७.२८ प्रतिशत पुगेको छ भने कुमारी बैंकको ६.४२ प्रतिशत र एनआइसी एशिया बैंकको ६.२८ प्रतिशत रहेको छ।

नबिल, ग्लोबल आइएमई, प्रभु, लक्ष्मी सनराइज, सिटिजन्स र नेपाल बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ। सबैभन्दा कम खराब कर्जा अनुपात एभरेष्ट बैंकको ०.३८ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७४ प्रतिशत मात्र छ।

बैंकको नाम खुद नाफा (रु.) वितरणयोग्य मुनाफा (रु.) लाभांश (%) खराब कर्जा (%)
नबिल बैंक ७ अर्ब १२ करोड ४ अर्ब ७७ करोड १७.६४ ५.८५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६ अर्ब ७५ करोड ४९ करोड १.३३ ४.८७
ग्लोबल आइएमई बैंक ६ अर्ब २० करोड ५ अर्ब ३७ करोड १४.११ ४.२५
प्रभु बैंक ५ अर्ब ४४ करोड १ अर्ब ४ करोड ४.९६ ४.९६
एभरेष्ट बैंक ४ अर्ब ९१ करोड ४ अर्ब ९५ करोड ३८.२७ ०.३८
लक्ष्मी सनराइज बैंक ४ अर्ब ११ करोड ३ अर्ब ५३ लाख १२.३४ ४.२५
प्राइम कमर्सियल बैंक ४ अर्ब २ करोड २ अर्ब ७८ करोड १४.३३ ५.५६
कृषि विकास बैंक ३ अर्ब ८२ करोड २ अर्ब ५५ करोड १८.४२ ३.२६
राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ८१ करोड ३० करोड ३४ लाख १.९४ ३.५९
नेपाल बैंक ३ अर्ब ७७ करोड ४४ करोड ९० लाख ऋणात्मक ४.४७
सिद्धार्थ बैंक ३ अर्ब ३९ करोड १ अर्ब ८६ करोड १३.२२ २.६२
एनएमबि बैंक ३ अर्ब २८ करोड १ अर्ब ९० करोड १०.४१ ३.७२
स्ट्याण्डर्ड चार्टर्ड बैंक ३ अर्ब २ करोड १ अर्ब ९९ करोड १९.८५ १.७४
सानिमा बैंक २ अर्ब ५७ करोड २ अर्ब ७८ करोड २०.४७ ३.१०
कुमारी बैंक २ अर्ब ११ करोड २ अर्ब ७९ करोड ऋणात्मक ६.४२
माछापुच्छ्रे बैंक २ अर्ब १ करोड १ अर्ब ७ करोड ९.२३ ३.८३
नेपाल एसबिआई बैंक १ अर्ब ८० करोड १ अर्ब २३ करोड ११.२९ ३.३५
हिमालयन बैंक १ अर्ब ५१ करोड ७ अर्ब १० करोड ऋणात्मक ७.२८
सिटिजन्स बैंक १ अर्ब २९ करोड ७७ करोड ५४ लाख ५.२५ ४.९४
एनआइसी एशिया बैंक १६ करोड ५ अर्ब २१ करोड ऋणात्मक ६.२८