
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा जम्मा हुने निक्षेपको अनुपात निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, २०८२ जेठसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६९ खर्ब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ ।
अघिल्ला वर्षहरूसँग तुलना गर्दा यो घट्दो प्रवृत्ति देखिन्छ। २०८१ जेठमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५८.५ प्रतिशत थियो। केही वर्षअघि मुद्दती निक्षेप लगातार बढ्दै गएको थियो। २०७८ जेठमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ४८.५ प्रतिशत, २०७९ मा ५७.१ प्रतिशत, र २०८० मा ५९.८ प्रतिशत पुगेको थियो। तर पछिल्लो दुई वर्षमा यो घट्दै २०८२ जेठमा ५०.२ प्रतिशतमा झरेको हो।
विगतमा दोहोरो अंकमा रहेको मुद्दती ब्याजदर पछिल्ला वर्षमा कम हुँदै गएको छ। बैंकहरू अहिले साधारण बचततर्फ लगानीकर्तालाई आकर्षित गर्न ब्याजदर घटाउँदै आएका छन्।
अहिले मुद्दती खाताको निक्षेप झिकेर सेयर बजारतर्फ लगानी गर्ने क्रम बढिरहेको छ । त्यसबाहेक अन्य लगानीका विकल्पहरूमा पनि बचतकर्ताले ध्यान दिन थालेका छन् । पछिल्लो समय सेयर बजारमा कर्जा लगानी सहज भएसँगै लगानीकर्ताले मुद्दती निक्षेपमा रकम राख्नुभन्दा त्यसतर्फ लगानी बढाउन उपयुक्त हुने देखेका छन् ।
मुद्दती निक्षेप धेरै समयसम्म घटिरहेमा समस्या सिर्जना हुने भएपनि अहिले मुलुकको अवस्थाका कारण समस्या नै आउँछ भन्न नसकिने विज्ञहरु बताउँछन् । अहिले लगानीका लागि उपयुक्त अवसर नभइरहेको सन्दर्भमा मुद्दती खाताबाट रकम झिकेर समस्या नहुने उनीहरूको भनाइ छ ।
विगतका केही महिना ब्याजदर बढ्ने आशाले सरकारी ट्रेजरी बिल्स लगायतका अल्पकालीन उपकरणमा लगानी गरिरहेका ठूला संस्थागत निक्षेपकर्ता फेरि मुद्दतीमै फर्कन थालेका छन् ।
ब्याजदर घटेपछि ट्रेजरी लगायतका अल्पकालीन उपकरणबाट उनीहरूले मुद्दती निक्षेपमा बचत फर्काउन थालेका हुन् । बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले अहिले मुद्दती निक्षेपमै पैसा राख्न थालेको देखिन्छ ।
बैंकरहरू भन्छन्,‘हाल बैंकहरूमा पर्याप्त तरलता उपलब्ध छ। त्यसैले मुद्दती निक्षेपको सट्टा बचत खातामा पैसा आकर्षित गर्न ब्याजदर कम गर्ने अवस्था सिर्जना गरिएको हो ।’
यसैबीच, बैंकहरूले लगानीकर्तालाई आकर्षित गर्न नयाँ उत्पाद र सेवा ल्याउने, डिजिटल बैंकिङ विस्तार गर्ने र दीर्घकालीन बचत प्रवर्धन गर्ने योजना अघि बढाइरहेका छन्।
मुद्दती निक्षेप घट्नुको मुख्य कारण ब्याज दर, आर्थिक अनिश्चितता र जनताको खर्च बानीमा परिवर्तन रहेको छ । बैंकले दिने ब्याज दरले मुद्रास्फीति र जीवन यापन लागतको सामना गर्न कठिन हुने भएकाले आम मानिसहरू मुद्दती निक्षेपमा पैसा राख्न कम रुचाउँछन्।
त्यसैगरी, उपभोक्ताहरूको नगद पहुँच बढ्नु र डिजिटल भुक्तानी प्रणालीको प्रयोगले पनि मुद्दती निक्षेपको आवश्यकतालाई घटाएको छ। मोबाइल बैंकिङ, ई–पेमेन्ट र डिजिटल वालेटको प्रयोगले तत्काल आवश्यक खर्चको सुविधा उपलब्ध गराउँदा लामो अवधिका निक्षेपमा पैसा राख्ने आवश्यकतालाई कम गरेको विश्लेषकहरू बताउँछन्।
अर्को कारण भनेको बचतका विकल्पको विविधता हो। शेयर, म्युचुअल फण्ड, बचतपत्र र बीमा जस्ता विकल्पहरूले पनि मुद्दती निक्षेपमा पैसा राख्ने आवश्यकता कम गरेका छन्। यसले गर्दा बैंकमा लामो समय पैसा राख्ने प्रोत्साहन घटेको छ।
बैंक तथा वित्तीय संस्थाले यस परिप्रेक्ष्यमा नयाँ उत्पाद र आकर्षक ब्याज दर उपलब्ध गराएर मुद्दती निक्षेपको आकर्षण बढाउने प्रयास गरिरहेका छन्। साथै, बचत प्रवर्धन र वित्तीय साक्षरता अभियानमार्फत जनतालाई दीर्घकालीन बचतको महत्व बुझाउने काम भइरहेको छ।
निक्षेपमा मुद्दतीको अनुपात घट्नु राम्रो अर्थतन्त्रका लागि चुनौती पनि हो। यसले बैंकको स्थायित्व र कर्जा प्रवाह क्षमतामा असर पार्न सक्छ। त्यसैले, सरकारले बैंकिङ प्रणालीलाई दीर्घकालीन बचत र लगानीको सन्तुलनमा ध्यान दिनु आवश्यक छ।
नेपालका बैंक तथा वित्तीय संस्थामा अब लचिलो निक्षेप र लगानी विकल्प बढ्दै गएसँगै मुद्रती निक्षेपको हिस्सा अझै घट्ने सम्भावना रहेको विश्लेषकहरुको भनाइ छ ।
