
बैंकिङ खबर/ सन् २००८ मा आएको ग्रेट फाइनान्सियल क्राइसिसले विश्वभरको बैंकिङ प्रणाली, वित्तीय नियमन र आर्थिक संरचनालाई नै हल्लाइदिएको थियो।
संकटको मूल कारणहरूमा बैंकहरूको अत्यधिक जोखिम लिने प्रवृत्ति, कमजोर नियामक निगरानी, र अपारदर्शी वित्तीय उपकरणहरूको प्रयोग थिए। यसले देखायो कि अवस्थित नियामक संरचना गहिरो आर्थिक संकट रोक्न असक्षम थियो।
यही पृष्ठभूमिमा, संकटपछिको युगमा बैंकिङ नियमनमा उल्लेख्य परिवर्तन आएको छ, जसले केही चुनौती हल गरे पनि अनेक नयाँ खतरा र प्रश्नहरू जन्माएका छन्।
नियामक संरचनाको पुनर्संरचना
ग्रेट फाइनान्सियल क्राइसिसपछि विभिन्न देशहरूले आफ्ना बैंकिङ नियामक संरचनामा सुधार ल्याए। अमेरिकाले Dodd-Frank Act मार्फत प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरूको नियमन कडा गर्यो भने युरोपेली संघले European Banking Union स्थापना गरी बैंकहरूको एकीकृत निगरानीको प्रयास गर्यो। बेसल III जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरू लागू गरिए, जसले पूँजीको मात्रा, लिक्विडिटी र जोखिम व्यवस्थापनमा स्पष्ट नियमहरू निर्धारण गरे।
तर, संकटपछिको यो नियमन प्रतिक्रियात्मक शैलीमा केन्द्रित थियो—संकटपछि कडा नियमन लागू गर्नु र विस्तारै ती नियमनहरूमा लचकता देखाउनु। यसैलाई विशेषज्ञहरूले regulatory cycles अर्थात् “नियामन चक्र” का रूपमा उल्लेख गरेका छन्। यो प्रक्रिया दीर्घकालीन स्थायित्व भन्दा अल्पकालीन प्रतिक्रिया र राजनीतिक दवाबमा आधारित हुने खतरा बोकेको हुन्छ।
SVB को असफलता र नियमनको असफलता
सन् २०२२ मा अमेरिका स्थित Silicon Valley Bank (SVB) को पतनले नियामक प्रणालीमा रहेको अर्को कमजोरीलाई उजागर गर्यो। GFC पछि आएको Crapo Bill ले मध्यम आकारका बैंकहरूलाई Dodd-Frank अन्तर्गतको कडा नियमनबाट छुट दिएको थियो। यसैको फाइदा उठाउँदै SVB ले ब्याजदरको जोखिमलाई ध्यान नदिई दीर्घकालीन सम्पत्तिमा भारी लगानी गर्यो, जुन ब्याजदर बढेपछि घाटामा परिणत भयो।
यस घटनाले नियामकको ध्यान जोखिमको गुणात्मक मूल्याङ्कनमा केन्द्रित हुनुपर्ने संकेत दिएको छ। पूँजीको मात्रात्मक मापदण्डमात्र पर्याप्त छैन, जोखिमको प्रकृति र उसको प्रभावको व्याख्या गर्ने उपायहरू अझ प्रभावकारी बनाइनु जरूरी छ।
कार्बन संक्रमण जोखिम र जलवायु वित्त
विगतमा कम महत्त्व दिइएका frontier risks —जस्तै जलवायु परिवर्तन सम्बन्धी जोखिम— अब बैंकिङ क्षेत्रका लागि नयाँ चुनौती बनेका छन्। Carbon transition risk भनिने जोखिमले परम्परागत प्रदूषक उद्योगमा लगानी गर्ने बैंकहरूलाई भविष्यमा घाटाको सामना गराउन सक्छ।
यस जोखिमलाई व्यवस्थापन गर्न बैंकहरूले brown loans अर्थात् उच्च उत्सर्जन गर्ने कम्पनीहरूलाई दिइएका ऋणहरूलाई securitization को माध्यमबाट छायाँ बैंकिङ क्षेत्रमा सार्ने प्रवृत्ति देखाएका छन्। यस्तो रणनीतिले बैंकलाई प्रत्यक्ष जोखिमबाट जोगाउन सक्छ, तर प्रणालीगत जोखिम भने अझ जटिल बन्छ।
ब्याजदर जोखिम र निक्षेपको भूमिका
ग्रेट फाइनान्सियल क्राइसिसपछिको दशकमा ब्याजदर ऐतिहासिक रूपले न्यून रहेको कारणले बैंकहरूले उच्च प्रतिफल खोज्न दीर्घकालीन सम्पत्तिमा लगानी बढाएका थिए। तर, निक्षेपहरूको अवधी छोटो हुने भएकाले ब्याजदर बढेपछि बैंकहरू duration mismatch को मारमा परे।
एक नयाँ अनुसन्धान अनुसार, deposit beta अर्थात् ब्याजदर परिवर्तनको सन्दर्भमा निक्षेप दर परिवर्तन हुने सम्भाव्यता, ब्याजदरको सामान्य स्तरसँग सम्बन्धित छ। कम ब्याजदरमा निक्षेप प्रतिस्पर्धी हुँदैनन्, जसले ब्याजदर जोखिम केही कम गर्न सक्छ। तर उच्च ब्याजदरमा निक्षेपहरूले प्रतिस्पर्धा गर्नुपर्दा बैंकको लागत बढ्छ र जोखिम पनि।
संकटकालीन नियमन : कडाइ वा लचकता?
COVID–१९ संकटको समयमा धेरै देशहरूमा बैंक पूँजीको नियमनमा लचकता देखाइयो। Couaillier et al. (2025) को अनुसन्धानले देखाउँछ कि संकटमा बैंक पूँजी आवश्यकताको अस्थायी राहतले कर्जा प्रवाह बढाउन सहयोग गर्छ। अझ महत्त्वपूर्ण कुरा के भने, कमजोर बैंकहरूले पनि जोखिम नबढाई यो लचकताको सदुपयोग गरेका छन्।
यसले countercyclical capital buffer रणनीति—संकटको बेलामा पूँजी आवश्यकता घटाउने र बूमको बेला बढाउने—को प्रभावकारिता पुष्टि गर्छ। तर यसमा स्पष्ट दिशा–निर्देश र नियम–आधारित कार्यप्रणाली आवश्यक हुन्छ, नत्र नियामकको विश्वसनीयता कमजोर हुन सक्छ।
विश्वास, पारदर्शिता र वित्तीय नवप्रवर्तन
बैंकिङमा नियमनभन्दा पनि बढी महत्त्वपूर्ण तत्व हो—विश्वास। Liang et al. (2025) को अनुसन्धानले देखाउँछ कि विश्वासिलो वित्तीय संस्था अधिक पारदर्शी हुन्छन्, कम त्रुटि गर्छन्, र साना–ठूला ग्राहकबीच राम्रो सन्तुलन कायम गर्छन्।
परिणामतः, नियमनको उद्देश्य केवल नियम पालना सुनिश्चित गर्नु होइन, तर वित्तीय प्रणालीमा विश्वास र स्थिरता निर्माण गर्नु हो। यसका लागि संस्थाहरूको व्यवहार, प्रोत्साहन संरचना र नैतिकताको गहिरो मूल्याङ्कन आवश्यक हुन्छ।
ग्रेट फाइनान्सियल क्राइसिस पछिको विश्वले बैंकिङ नियमनमा धेरै सुधार देखेको छ, तर चुनौतीहरू उस्तै गम्भीर छन्। अबको आवश्यकता भनेको प्रतिक्रियात्मक नियमन होइन, प्रत्याशित, स्थिर र लचिलो नियामक प्रणाली हो। जलवायु जोखिमदेखि ब्याजदरको अस्थिरता, विश्वास संकटदेखि डिजिटल नवप्रवर्तन-यी सबैलाई समेट्ने एकीकृत नियमन प्रणाली समयको माग हो।
अन्ततः, बैंकले नाफा मात्र होइन, जोखिम पनि व्यवस्थापन गर्न जान्नुपर्छ। र नियामकले केवल संकटपछि होइन, संकटपूर्व नै चेतावनी दिन सक्ने बनावट निर्माण गर्नुपर्ने समय आएको छ।




