Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुरका घटना बढ्नुका कारण र समाधानका उपायहरू

२०८२ श्रावण १२ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ प्रणालीको दुरुपयोग गरी ठगी, जालसाजी तथा चेक बाउन्सजस्ता बैंकिङ कसुरका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्।

नेपाल प्रहरीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कसुर अपराधका मुद्दा बढेको पाइएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत भन्दा बढीले बैंकिङ कसुरका घटना बढेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दायर भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए ।

काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै ८ हजार ८० मुद्दा दायर भएका छन्। सबै भन्दा कम भने कर्णाली प्रदेशमा २९७ वटा मुद्दा दायर भएको डिआइजी घिमिरेले जानकारी दिए। त्यस्तै, मधेश प्रदेशमा १ हजार २७८ वटा, कोशीमा १ हजार २५३ वटा, गण्डकीमा ८०६ वटा बागमतीमा ७९८ वटा र सुदूरपश्चिममा ४४३ वटा मुद्दा दायर भएको हो।

गएको आर्थिक वर्षमा ५८ हजार ४७२ वटा मुद्दा दायर हुँदा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०८०/८१ मा भने ५९ हजार २०३ वटा मुद्दा दायर भएको थियो।

बैंकिङ कसुरका घटना बढ्दा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वासमा आघात पु¥याउनुका साथै आर्थिक अपराधको रूप समेत लिन थालेको छ।

बढ्नुका कारणहरू

१. सजिलै बैंक खाता खोल्ने प्रक्रिया

बैंक तथा वित्तीय संस्थाहरूले सेवा विस्तारको नाममा आवश्यक सत्यापन प्रक्रिया कमजोर बनाउँदा फर्जी कागजातका आधारमा खाता खोल्ने प्रवृत्ति बढेको छ।

२. वित्तीय साक्षरताको अभाव

ग्रामीण तथा अर्धसहरी क्षेत्रमा बैंकिङ ज्ञानको कमीले मानिसहरू सजिलै ठगीको सिकार बन्ने गरेका छन्। बैंकिङ प्रणालीको सही प्रयोग र जोखिमबारे जानकारी नहुनु प्रमुख समस्या हो।

३. चेक दुरुपयोग

व्यक्तिगत तथा व्यावसायिक कारोबारमा प्रयोग हुने चेक समयमै भुक्तानी हुन नसक्दा चेक बाउन्स हुने समस्या व्यापक छ। नियोजित रूपमा चेक काटेर पैसा नफिर्ता गर्ने प्रवृत्तिले बैंकिङ कसुर बढाएको छ।

४. प्रविधिको दुरुपयोग

इन्टरनेट तथा मोबाइल बैंकिङ प्रणालीको पहुँच बढेपछि साइबर अपराधमार्फत बैंक खाताबाट पैसा निकाल्ने घटनाहरू समेत देखिन थालेका छन्।

५. कानुनी कारबाही प्रक्रिया सुस्त

बैंकिङ कसुरमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही प्रक्रिया ढिलो हुने वा सजाय कमजोर हुने हुँदा अपराधीहरू दोहोरिने सम्भावना बढेको छ।

समाधानका उपायहरू

१. वित्तीय साक्षरताको अभिवृद्धि

सार्वजनिक तहमा वित्तीय शिक्षा अभियान सञ्चालन गरी बैंकिङ प्रणाली, जालसाजी पहिचान गर्ने तरिका, चेक तथा डिजिटल कारोबारको जिम्मेवारीबारे जनचेतना दिनुपर्छ।

२. ग्राहक पहिचान प्रक्रिया मजबुत बनाउने

बैंकहरूले ग्राहक खाता खोल्दा राष्ट्रिय परिचयपत्र, मोबाइल नम्बर र अन्य विवरणको यथेष्ट प्रमाणीकरण गरी नक्कली खाता खोल्न नदिने व्यवस्था गर्नुपर्छ।

३. चेक भुक्तानी प्रक्रिया कडाइ गर्ने

उच्च रकमका चेकमा पूर्वस्वीकृति, खातामा पर्याप्त मौज्दात भए मात्र भुक्तानी हुने प्रणाली अपनाउन सकिन्छ। चेक दुरुपयोगमा कडा कारबाहीको व्यवस्था गर्नुपर्छ।

४. साइबर सुरक्षा प्रणाली बलियो बनाउने

डिजिटल बैंकिङ सेवा दिने संस्थाहरूले उच्चस्तरको साइबर सुरक्षा प्रणाली अपनाउनुका साथै नियमित परीक्षण र निगरानी गर्नुपर्छ।

५. कानुनी प्रक्रिया सुधार

बैंकिङ कसुरमा संलग्नलाई शीघ्र र कडा कानुनी कारबाही गर्न आवश्यक कानुनी संशोधन गर्नुपर्छ। विशेष अदालतमार्फत छिटो न्याय सम्पादन प्रक्रिया थाल्न सकिन्छ।