Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको समग्र अर्थतन्त्रको चित्र

२०८२ असार २४ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको देशको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । शोधनान्तर स्थिति रु.४९१ अर्ब ४४ करोडलेबचतमा रहेको छ । आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ । महिनाकोविप्रेषण आप्रवाह रु.१७६ अर्ब ३२ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।

नेपाल सरकारको खर्च रु.१२८२ अर्ब ९४ करोड र राजस्व परिचालन रु.१०१६ अर्ब ९ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ८.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.७ प्रतिशत रहेको छ ।

रेमिट्यान्समा रफ्तार

११ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशत बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएका राष्ट्र बैंकले जनाएको छ । गत वर्षको जेठ महिनामा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो

राष्ट्र बैंकका अनुसार खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो, ११ महिनामा २५.९ प्रतिशतको वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.९ प्रतिशतले वृद्धि हो। २०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको असार मसान्तमा १५ अर्ब २७ करोड मात्रै थियो। राष्ट्र बैंकको हिस्सा मात्रै २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको सञ्चिति पनि ५३.२ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ९२ करोड पुगेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.५ प्रतिशत रहेको छ।

विदेशी मुद्रा सञ्चिति आयात धान्न पर्याप्त देखिएको छ। वर्तमान सञ्चिति बैंकिङ प्रणालीसँग १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात कभर गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। जेठ मसान्तसम्म सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.१ प्रतिशत, कुल आयातसँग १२२.९ प्रतिशत, र विस्तृत मुद्राप्रदायसँग ३४.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो।

वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित, खाद्य समूहमा न्यून वृद्धि

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४.१७ प्रतिशतभन्दा कम हो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशतमा सीमित हुँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। खाद्य समूहभित्र घ्यू तथा तेलको मूल्यमा १०.०६ प्रतिशत वृद्धि भएको छ भने तरकारीको मूल्य ७.०४ प्रतिशतले घटेको छ।

गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडा तथा जुत्ता–चप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य वस्तुमा ४.६८ प्रतिशत मूल्य वृद्धी देखिएको छ। स्थानगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रको २.६६ प्रतिशत रहेको छ। त्यस्तै काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत मापन गरिएको छ।

प्रदेशगत विवरणअनुसार, कोशी र हिमाल क्षेत्रमा मुद्रास्फीति ४.१८ प्रतिशतले सबैभन्दा बढी छ। सुदूरपश्चिममा ३.८६, कर्णालीमा २.५४, लुम्बिनीमा २.३९, मधेशमा २.५२, गण्डकीमा १.७५ र बागमतीमा २.२९ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ। यता, थोक मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.५६ प्रतिशतमा झरेको छ ।

चालु खाता बचतमा, ३०७ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालको चालु खाता रु. ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २०० अर्ब ३८ करोडले बचतमा थियो। अमेरिकी डलरमा पनि चालु खाता बचत वृद्धि भई १ अर्ब ५१ करोडबाट २ अर्ब २६ करोडमा पुगेको छ। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. ८ अर्ब ९६ करोड रहेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ४६ करोडभन्दा बढि हो। साथै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. ११ अर्ब ९ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २४ करोडको तुलनामा वृद्धि हो।

समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति रु. ४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको ४२५ अर्ब ६७ करोडको तुलनामा बढि हो। अमेरिकी डलरमा समेत शोधनान्तर स्थिति सुधार भई अघिल्लो वर्षको ३ अर्ब २० करोडबाट ३ अर्ब ६२ करोड पुगेको छ। यी तथ्यांकहरूले नेपालको आर्थिक परिस्थिति र वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रगति भइरहेको संकेत दिएका छन्।

सरकारको आन्तरिक कर्जा ३.४ प्रतिशतले वृद्धि, मौद्रिक क्षेत्रको दाबीमा मिश्रित स्थिति

चालु आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म सरकारले आन्तरिक कर्जामा ३.४ प्रतिशतले वृद्धि गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, अघिल्लो वर्षको सोही अवधिमा आन्तरिक कर्जा ३.५ प्रतिशतले बढेको थियो। वार्षिक विन्दुगत आधारमा हेर्दा, जेठ मसान्तमा आन्तरिक कर्जा ६.० प्रतिशतले वृद्धि भएको छ। यद्यपि, मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.१ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्षको १२.५ प्रतिशतको तुलनामा बढी हो।

त्यसैगरी, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबीमा भने वृद्धि देखिएको छ। चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म निजी क्षेत्रमाथिको दाबी ८.७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ६.६ प्रतिशतभन्दा उच्च दर हो। वार्षिक विन्दुगत हिसाबले पनि निजी क्षेत्रमाथिको दाबी ८.२ प्रतिशतले वृद्धि भएको छ। यी तथ्यांकहरूले मौद्रिक क्षेत्रमा निजी क्षेत्रको ऋण माग बढिरहेको र सरकारमाथिको ऋण दाबी घटिरहेको देखिन्छ ।

राष्ट्र बैंकद्वारा ११ महिनामा २१३ खर्ब रुपैयाँ तरलता प्रशोचन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत २७ खर्ब ८४ अर्ब ८० करोड र स्थायी निक्षेप सुविधामार्फत १८५ खर्ब ५८ अर्ब ७० करोड गरी कुल तरलता प्रशोचन गरेको हो।

अघिल्लो वर्षको तुलनामा तरलता प्रशोचनमा वृद्धि देखिएको छ, जहाँ गत वर्ष १९० खर्ब ८४ करोड मात्र प्रशोचन गरिएको थियो। यस अवधिमा २ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा पनि उपयोग भएको छ।

विदेशी विनिमय बजारमा राष्ट्र बैंकले अमेरिकी डलर ५ अर्ब १ करोड खुद खरिद गरी ६ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५ अर्ब ३३ करोड खुद खरिद गरी ७ खर्ब ८ अर्ब ८७ करोड तरलता प्रवाह गरिएको थियो। यसैगरी, अमेरिकी डलर बिक्री गरी ४ खर्ब ७१ अर्ब ३९ करोड बराबर भारतीय रुपैयाँ खरिद गरिएको छ।

आर्थिक वर्षभरि वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाबीच कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

पूर्णपाठका लागि