
बैंकिङ खबर/ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानलाई लक्षित गर्दै कृषि ऋणलाई सरलीकृत र सहज बनाउन नेपाल राष्ट्र बैंकलाई सहजीकरण गर्न आग्रह गरेका छन्। आइतबार सिंहदरबारस्थित मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँगको छलफलमा, मन्त्री अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी भूमिकामार्फत कृषिमा आधारित गरिबी न्यूनीकरण सम्भव हुने बताए।
“कृषिका लागि ठूला रकम ऋण लिएका कतिपयले त्यो रकम अन्य क्षेत्रमा प्रयोग गरेको पनि सुनिन्छ,” मन्त्री अधिकारीले भने, “यदि यस्तो हो भने कृषि क्षेत्रले अपेक्षित प्रतिफल दिन सक्दैन।” उनले कृषि ऋणको सही उपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न राष्ट्र बैंकसँग आग्रह गरे।
मन्त्री अधिकारीले थपे, “जसले ऋण पाउनु पर्ने हो, उसले पाउँदैन; पाउनेले कृषिबाहेकको काममा लगाउँछ–यस्तो अवस्था आउनु हुँदैन।” उनले सरकारी स्वामित्वका बैंकहरूले पनि कृषि कर्जा विस्तार गर्नुपर्ने र राष्ट्र बैंकले तोकेको व्यवस्था पालना गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलले कृषिमा भइरहेको लगानीको उत्पादकता नआएको प्रति चिन्ता व्यक्त गर्दै भने, “किसानलाई व्यवसायिक नबनाईकन कृषि लगानीबाट प्रतिफल आउँदैन।” उनले प्रतिफलमुखी ढंगले कृषि ऋण प्रवाह र अनुगमन आवश्यक भएको उल्लेख गरे।



