Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सांसद तामाङको प्रश्न- सीईओहरूले वर्षमा दुई करोड कमाउने, फेरि ऋण किन चाहियो ?

२०८२ असार २२ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू संकटमा परिरहेका बेला बैंकहरू मात्र धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद तामाङले अर्थतन्त्रलाई चलायमान बनाउने गरी विधेयक निर्माण गर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा उठेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले लगानी गर्न नपाउने प्रावधानमाथि प्रतिक्रिया दिँदै उनले भने, “सीईओहरूले वर्षमा दुई करोड रुपैयाँ कमाउँछन् रे, उहाँहरूलाई ऋण किन चाहियो?”

उनले बैंकहरूमा थुप्रिएको पूँजी बजारमा नआउँदा अर्थतन्त्र सुस्त भएको उल्लेख गर्दै कालोधनलाई एक वर्षभित्र वैधानिक बनाउने व्यवस्था गर्नुपर्ने सुझाव दिए। उनले देशमा तीन खर्ब रुपैयाँभन्दा बढी कालोधन रहेको दाबीसमेत गरे।

सांसद तामाङले कालो कारोबार रोक्न ५०० रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने प्रस्तावसमेत अघि सारे। “यस्ता नोट कालो कारोबारमा बढी प्रयोग हुने भएकाले अर्थ समितिले यसबारे पहल गर्नुपर्छ,” तामाङले भने।