
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिलेको समय लगानीको लागि अनुकूल अवसर भएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले बैंकमा प्रशस्त निक्षेप र पर्याप्त विदेशी मुद्रा सञ्चिति भएको बेला लगानीयोग्य रकमको भरपुर उपयोग गर्नुपर्ने बताए ।
उनले भने, “बैंकहरूमा ५ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थन्किएको छ। अब वित्तीय नीतिले नेतृत्व गरी लगानी क्षेत्रको पहिचान गर्नुपर्ने समय आएको छ।”
गभर्नर पौडेलले आगामी मौद्रिक नीति वित्तीय नीतिसँग समन्वय गर्दै दिगो र सन्तुलित विकासका लागि लक्षित रहने बताए। उनले ग्रामीण क्षेत्रमा अझै पनि आवश्यकताअनुसार ऋण नपुगेको उल्लेख गर्दै सो समस्यालाई नयाँ मौद्रिक नीतिबाट सम्बोधन गरिने स्पष्ट पारे।
उनका अनुसार, देशको समग्र आर्थिक गतिको लागि अब लगानीमैत्री वातावरण बनाउनुपर्ने, र मौद्रिक नीतिले त्यसमा उत्प्रेरकको भूमिका खेल्नुपर्ने अवस्था छ।



