Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गैर–बैंकिङ सम्पत्तिको चाप बढ्दो, बैंकिङ क्षेत्रलाई चुनौतीपूर्ण मोडमा ल्यायो : उपेन्द्र पौडेल

२०८२ असार २२ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय परिसंघका अध्यक्ष तथा नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले गैर–बैंकिङ सम्पत्ति बैंकिङ क्षेत्रका लागि ठूलो चुनौती बन्दै गएको बताएका छन्।

एक कार्यक्रममा बोल्दै पौडेलले पछिल्ला दिनमा खराब कर्जा (एनपीएल) बढेसँगै बैंकहरूले निक्षेप सुरक्षित गर्न गैर–बैंकिङ सम्पत्तिको बोझ झेल्नुपरेको उल्लेख गरे। उनले विभिन्न नीतिगत जटिलता, कमजोर ऋणी क्षमता र जानकारीको अभाव नै समस्याका मूल कारण भएको बताए।

साना ऋणीलाई आधारभूत ज्ञानको अभाव

पौडेलले साना तथा मध्यम ऋणीहरूले कर्जा कसरी लिने, व्यवसाय कसरी गर्ने भन्ने विषयमा आवश्यक ज्ञान नपाएको स्पष्ट पारे। ‘ऋणीको क्षमता विकासमा बैंकहरू चुकेका छन्,’ उनले भने, ‘सिर्फ कर्जा प्रवाह गरेर मात्र दायित्व पूरा हुँदैन।’

उनले ‘डिरेक्टिभ लेण्डिङ पोलिसी’ मा तत्काल पुनरावलोकन आवश्यक भएकोमा जोड दिँदै नेपाल राष्ट्र बैंकले छुट्टै अध्ययनसहित तत्काल कदम चाल्नुपर्ने बताए।

‘डिरेक्टिभ सेकेटरमा लगानी त गर्नुपर्छ,’ उनले भने, ‘तर त्यसका लागि यथार्थपरक नीति नबनाई हालको स्थितिमा थप जोखिम सिर्जना हुन सक्छ।’

बैंकिङ क्षेत्र मात्र सुशासनयुक्त, राज्यका अरू निकाय पनि त्यसैगरी चल्नुपर्छ

पौडेलले बैंकिङ क्षेत्रमा सुशासन कायम रहेको तर राज्यका अन्य निकायहरूमा त्यस्तो नदेखिएको धारणा राखे। ‘अब बैंकहरूले टार्गेट पूरा गर्न मात्रै काम गर्नु हुँदैन,’ उनले भने, ‘देशको समग्र आर्थिक प्रणाली सुदृढ गर्न योगदान दिने ढंगले सोच्नुपर्छ।’

उनका अनुसार हरेक क्षेत्रले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे मात्र अर्थतन्त्र दीगो रूपमा उकास्न सकिन्छ। उनले चेतावनी भने, ‘यदि बैंकिङ क्षेत्रको दिशा बिग्रियो भने त्यसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा पर्छ।’