
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) हतारमा पारित गर्दा सकारात्मक परिणाम आउन नसक्ने चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा बाफिया विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसद कार्कीले विधेयकमा व्यापक छलफलको आवश्यकता औँल्याए। “गम्भीर ढंगले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुन बनाउनुपर्छ,” उनले भने, “त्यसबाट मात्र मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिन सकिन्छ।”
उनले कृषि क्षेत्रमा लगानीको वातावरण बनाउँदै चामलमा आत्मनिर्भरता हासिल गर्नुपर्ने बताए। “न्युन तहका कृषक र स्टार्टअप व्यवसायीलाई लक्षित गरी कर्जाको पहुँच विस्तार गर्नुपर्ने बेला हो,” उनले भने।
सांसद कार्कीले बाफिया विधेयकमा गभर्नर, अर्थमन्त्रीलगायत सरोकारवालाको उपस्थितिमा व्यापक छलफलको माग गरे। “बैंकमाथिको जनविश्वास घटेमा राज्य नै संकटमा जान सक्छ,” उनले चेतावनी दिए।
उनका अनुसार अहिले बैंकमा तरलता रहे पनि व्यवसायी लगानी गर्न हिच्किचाइरहेका छन्। “व्यवसायीले लगानी गर्न सहज वातावरण नबनेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन,” उनले स्पष्ट पारे।
ऋण लिन सर्वसाधारणलाई अझै पनि कठिन भइरहेको भन्दै कार्कीले एक करोड रुपैयाँभन्दा कम ऋण लिँदा समेत बैंकमा जनता हैरान हुने गरेको उल्लेख गरे। “धितोका नाममा अत्यधिक झन्झट दिइन्छ,” उनले भने। उनले बाफिया विधेयकलाई सुधारेर मात्र अघि बढाउनुपर्ने र जनतामैत्री बनाउनुपर्नेमा जोड दिए।




