
बैंकिङ खबर / समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयर पुँजी ९९ प्रतिशतले घटाइएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले बैंकको पुनर्संरचना प्रक्रिया अघि बढाउँदै २५ जना संस्थापक र १० जना साधारण सेयरधनीको सेयर पुँजी साविकको एक प्रतिशतमा सीमित गर्ने निर्णय गरेको हो ।
व्यवस्थापन समूहको निर्णयअनुसार ३५ जना सेयरधनीको कुल २१ लाख ४८ हजार ७४५ कित्ता सेयर घटाएर २१ हजार ४८७ कित्तामा सीमित गरिएको छ । यसमध्ये २५ जना संस्थापक सेयरधनीको २१ लाख ३६ हजार ६०.८४ कित्ता सेयर घटाएर २१ हजार ३६०.६१ कित्ता कायम गरिएको छ । त्यसैगरी, १० जना साधारण सेयरधनीको १२ हजार ६८४.१८ कित्ता सेयर घटाएर १२६.८५ कित्ता कायम गरिएको छ ।
बैंकको वास्तविक वित्तीय अवस्था पहिचान गर्न गरिएको विस्तृत सम्पत्ति तथा दायित्व मूल्यांकन (ड्यु डिलिजेन्स अडिट) मा चुक्ता पुँजी पूर्ण रूपमा क्षय भएको र बैंकको सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था देखिएको थियो । मूल्यांकनका क्रममा केही सेयरधनीले सेयर पुँजीबापत चुक्ता गर्नुपर्ने रकम अवैधानिक रूपमा दाखिला गरेको तथ्यसमेत फेला परेको व्यवस्थापन समूहले जनाएको छ । सोही आधारमा बैंकको वित्तीय अवस्था सुधार तथा पुनर्संरचनाका लागि सेयर पुँजी कटौती गर्ने निर्णय गरिएको हो ।
नेपाल राष्ट्र बैंकले २०८१ पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि बैंकको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले गर्दै आएको छ ।
सेयर पुँजी कटौतीको निर्णय कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरणका लागि पेस गरिए पनि त्यसअघि अदालतबाट कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले यस विषयमा अन्तिम सुनुवाइका लागि आगामी मंसिर ९ गतेको मिति तोकेको छ ।
व्यवस्थापन समूहले सेयर पुँजी घटाउने निर्णयप्रति कुनै दाबी, विरोध वा उजुरी भएमा सम्बन्धित सेयरधनी तथा सरोकारवालालाई तोकिएको मिति र समयमा आवश्यक प्रमाणसहित अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । अदालतको सुनुवाइ र त्यसपछिको कानुनी प्रक्रिया पूरा भएपछि मात्र सेयर पुँजी कटौतीको निर्णय कम्पनी रजिस्ट्रारको कार्यालयमा औपचारिक रूपमा अभिलेखीकरण हुने प्रक्रिया अघि बढ्नेछ ।