Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सांसद चौधरीको सुझाव : बैंकलाई विदेशमा शाखा खोल्न दिनुपर्छ

२०८२ असार १९ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न अनुमति दिनुपर्ने माग गरेका छन्।

बिहीबार सिंहदरबारमा भएको अर्थ समितिको बैठकमा बाफिया (बैंक तथा वित्तीय संस्था सम्बन्धी) विधेयकका विषयमा छलफल भइरहेका बेला चौधरीले यो विषयलाई समावेश गरी विधेयक पुनःलेखन गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार हालको बाफिया विधेयक दुई वर्षदेखि ड्राफ्टमा रहेको भए पनि समयसंगै धेरै परिवर्तन आएको छ। यसले बैंकहरुको वर्तमान आवश्यकतालाई सम्बोधन गर्न सकिरहेको छैन। “नेपालका बैंकहरुलाई बाहिर जान दिनुपर्छ, विशेषगरी जहाँ नेपाली समुदाय धेरै छन् जस्तै अस्ट्रेलिया, मलेसिया जस्ता देशमा शाखा खोल्न दिनुपर्छ,” उनले भने।

चौधरीले भने, “नेपालीको पुँजी नेपाली बैंकहरुले किन विदेशबाट संकलन गर्न नपाउनु? बैंकहरूले विदेशी नेपाली समुदायलाई सेवा दिन पाउनुपर्छ।”

उनले वर्तमान अर्थतन्त्र सुस्त रहेको र बैंकहरुले पर्याप्त लगानी गर्न नसकेको बताउँदै बैंकर्स र उद्योगीहरूको मनोबल सुधार्न आवश्यक रहेको उल्लेख गरे। “लगानी भएर मात्र उद्योगीले पैसा लिन्छन् भन्ने भ्रम हटाउनुपर्छ,” उनले थपे।