संस्थापक सेयर वा अग्राधिकार सेयर
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पुँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना संचालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पुँजी हो । तर त्यो १ अर्ब मध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्वसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृत गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छन्, त्यसलाई नै संस्थापक शेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिघटन गर्नुपर्यो भने ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ । यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ ।
साधारण सेयर
संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सिर्जना हुन्छ । त्यसपछि मात्र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाईँ हामी सर्वसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता शेयरको मुल्य रु. १०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
कसरी किन्ने सेयर ?
Initial Public Offer (आईपिओ) जारी गर्नुभन्दा १ साताअघि सम्बन्धित कम्पनीहरूले आह्वानपत्र निष्काशन गर्दछन् । यो आह्वानपत्रमा कम्पनीले कति सेयर, कुन मितिदेखि निकाल्दै छ भन्ने जानकारी दिइन्छ । आह्वानपत्रले कम्पनीको सेयरमा कतिसम्म र कहाँबाट आवेदन भर्न सकिन्छ भन्नेबाहेक कम्पनीको हालको स्थिति र भविष्यको योजनासमेत उल्लेख गरेको हुन्छ । लगानीकर्ताले कति कित्ता सेयर लिन चाहेको हो उल्लेख गरेर तोकिएको विवरण भरी हस्ताक्षर गर्नुपर्ने हुन्छ । पछि नगद फिर्ता लिँदा हस्ताक्षर मिल्नुुपर्ने भएकाले स्पष्ट र चल्तीकै हस्ताक्षर गर्नुपर्छ ।
बैंक खाता अनिवार्य
फारम भर्नेको बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था छ । मागेको भन्दा कम सेयर परेमा वा शेयर नपरेमा त्यही खातामा रकम जम्मा गर्न मिल्ने गरी विक्री प्रबन्धकले एकाउण्टपेयी (खातामै रकम जाने) चेक जारी गरिदिन्छ । फारम भर्न जाँदा आफ्नो पासपोर्ट साइजको दुईप्रति फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । आवेदन गरेको सेयरको बाँडफाँट निष्काशित सेयरको आधारमा ४० देखि ७० दिन लाग्छ । सेयर बाँडफाँट भएपछि लगानीकर्ताले कति सेयर पाए भन्ने यकिन हुन्छ । पाएको सेयरको प्रमाणपत्र र माग गरेर पनि नपाएको सेयरको रकम फिर्ता पाउन सकिन्छ । माग गरेर पनि भनेजति सेयर नपाएकाहरुले त्यो रकम बापतको ब्याज पनि पाउँछन् ।
नेप्सेमा कारोबार
सेयर बाँडफाँट गरेको ३० दिनभित्र कम्पनीले आफ्नो सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर सूचीकरण गराउँछन् । त्यसपछि लगानीकर्ताले सेयर कारोबार गर्न सक्नेछन् । कुनै पनि कम्पनीको पहिलो पटकको काराबोरका लागि नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्म रकम तोकिदिन्छ । त्यसपछिको मूल्य भने बजारमा रहेको माग र आपूर्ति अनुसार नै निर्धारण हुँदै जानेछ ।
मर्चेन्ट बैंकिङ
धितोपत्र निष्काशन तथा बिक्री वितरण र प्रबन्धसँग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त वित्तीय संस्था नै मर्चेन्ट बैंक हो । बैंकिङ क्षेत्र ‘वित्तीय बजार’ र ‘पुँजीबजार’ गरी दूई किसिमबाट कार्यरत क्षेत्र हो । जस अनुसार सरकारी बैंकहरु, वाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु वित्तीय बजार अन्तर्गत पर्दछन् भने मर्चेन्ट बैंक पुँजी बजार अन्तर्गतको शाखा हो । मर्चेन्ट बैंक आफैँमा अलग प्राइभेट बैंक होइनन्, यिनीहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन् ।
नियमनकारी संस्था नेपाल धितोपत्र बोर्डले दिएको कार्य अधिकार तथा क्षेत्र अनुसार मर्चेन्ट बैंकहरुले काम गर्ने गर्दछन् । जस अनुसार मर्चेन्ट बैंकहरुले आफ्नो लिडिङ कम्पनीको पुँजी व्यवस्थापन गर्ने, सेकेण्डरी मार्केटको सेयर किनबेचको कार्य गर्ने, सेयर नामसारी तथा संगठित संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामिलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्युजिसन प्रक्रियामा परामर्शदाताको रुपमा काम गर्ने तथा सेयर लगानीकर्ताहरुका लागि लगानी परामर्श सेवा संचालन गर्ने जस्ता कामहरु गर्दछन् । (बैंकिङ खबर वित्तीय साक्षरता हाते पुस्तीकाबाट)