
बैंकिङ खबर/ देशभर छरिएर रहेका बैंक तथा वित्तीय संस्थाका शाखा र विस्तारित काउन्टरहरू जनसंख्या, बसोबास र कारोवारको अवस्थाअनुसार समायोजन गर्न बैंकहरूले नेपाल राष्ट्र बैंकसँग माग गरेका छन्।
नेपाल बैंकर्स संघले हाल दुर्गम तथा न्यून कारोबार भएका क्षेत्रमा अनावश्यक रूपमा कायम रहेका शाखा तथा काउन्टरहरूलाई बन्द गर्न र स्थानान्तरण गर्न दिने नीतिगत व्यवस्था आवश्यक भएको जनाएको हो।
बैंकर्स संघका अनुसार अहिले देशका प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरू रहेका छन्। राष्ट्र बैंकको निर्देशनअनुसार ‘एक पालिका, एक शाखा’ नीति कार्यान्वयन भइसकेको अवस्थामा, पछिल्लो समय धेरैजसो दुर्गम क्षेत्रबाट मानिसहरूको बसाईंसराइ हुने क्रम तीव्र हुँदै गएको छ।
त्यसका कारण ती क्षेत्रका शाखामा ग्राहक संख्या घट्दो क्रममा छ भने दैनिक कारोबार न्यून छ। यस्ता शाखा चलाउन बैंकलाई आर्थिक रूपमा घाटा भइरहेकाले समायोजन आवश्यक भएको संघको भनाइ छ।
बैंकहरू भन्छन्, अहिले डिजिटल बैंकिङको पहुँच ग्रामीण क्षेत्रसम्म फैलिएको छ। मोबाइल बैंकिङ, एटीएम, इन्टरनेट बैंकिङजस्ता प्रविधिहरूको प्रयोग तीव्र भएका कारण भौतिक शाखाको आवश्यकतालाई केही हदसम्म घटाउन सकिने देखिएको छ।
लागत घटाउन चाहन्छन् बैंकहरू
अनावश्यक शाखा सञ्चालन गर्दा बैंकलाई कर्मचारी खर्च, भाडा, सुरक्षा तथा सञ्चालन खर्चमा भारी रकम खर्चिनु पर्ने बाध्यता हुन्छ। बैंकिङ प्रणालीको दीगो विकासका लागि यो दीर्घकालीन रूपमा बोझ हुने बैंकहरूको तर्क छ।




