Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

त्रिवेणी विकास बैंकलाई गाभ्न जनता बैंकले पायो सैद्धान्तिक सहमति

२०७३ पुष ७ गते

पुस ५ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको जनता बैंक नेपाल लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभ्न सैद्धान्तिक सहमति पाएको छ । विहीबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले जनतालाई त्रिवेणी विकास बैंकसँग मर्जरमा जान सैद्धान्तिक सहमति दिएको हो । अब सेयर स्वाप अनुपात लगायत आवश्यक प्रक्रिया पूरा गरी जनताले अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनेछ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि यी दुई संस्थाको एकीकृत कारोबार सुरु हुनेछ ।  

हाल जनता बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । हालै निष्काशन गरेको ५० प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पुँजी तीन अर्ब नौ करोड रुपैयाँ पुग्नेछ ।  बैंकले ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर पनि जारी गर्दैछ । जनताले गाभ्न लागेको त्रिवेणीको चुक्तापुँजी ८२ करोड रुपैयाँ छ । मर्जर, हकप्रद र बोनसपछि बैंकको चुक्तापुँजी साढे पाँच अर्ब नाघ्ने बताइएको छ ।

आगामी असार मसान्तसम्ममा जनतालाई आठ अर्ब चुक्तापुँजी पुर्याउनु पर्नेछ । यसका लागि बैंकलाई अझै साढे दुई अर्बको हाराहारीमा पुँजी आवश्यक हुन्छ । उक्त पुँजी पुर्याउनका लागि जनता बैंकले अर्को विकास बैंक एक्वाएर गर्ने योजना समेत बनाएको छ ।