March 20th, 2016

बैँक : थाहा छैन २० लाख नेपालीलाई

bankingरुपा कोइराला । आजको युगमा हरेक मानिसहरु पैसाको पछाडि दगुरिरहेका छन् । नेपाल पनि त्यसको प्रभावबाट टाढा रहन सकेको छैन । पैसा कै आवश्यकता पूर्तिका लागि आज लाखौँ युवाहरु ऋण काढीकाढी विदेशीइरहेको अवस्था छ । विशेषतः ग्रामीण भेगका युवाहरु पैसा कमाउनका लागि विदेशीने गरेका छन् । कतिपयले नेपालमै पनि विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । यद्यपि, त्यसरी मिहिनेत गरे कमाएको पैसा परिचालन गर्ने, लगानी गर्ने लगायतका विषयमा भने थुप्रै नेपालीहरु अनजान रहेका छन् । नेपालको २० लाख जनसंख्या पैसाको व्यवस्थापनबारे जानकारीबाट बाहिर रहेको नेपाल राष्ट्र बैँक लघुवित्त प्रवद्र्धन विभाग प्रमुख विनोद आत्रेय बताउँछन् । उनका अनुसार नेपालका ८१ प्रतिशत जनासंख्या ग्रामीण भेगमा बसोबास गर्ने गरेका छन् भने बहुसंख्यक जनसंख्या कृषिमा निर्भर छन् । त्यस्तै, २१ प्रतिशत नेपाली जनता पैसाको सुरक्षाका लागि अनौपचारिक तथा परम्परागत शैली अपनाउँछन् । आफैँसँग राख्यो भने पैसा सुरक्षित हुने भ्रममा उनीहरु छन् । उनीहरुमा पैसाको सुरक्षा तथा उचित उपयोगका लागि बैँक तथा वित्तिय संस्थाहरु संचालनमा आएका छन् भन्ने कुराको जानकारी छैन । 

त्यस्तै, नेपालका १९ प्रतिशत जनतामाझ बैँकिङ पहुँच नभएको अर्थमन्त्रालयका वित्तिय महाशाखा प्रमुख सूर्यप्रसाद आचार्यले बताए । बैँक तथा वित्तिय संस्थाहरु सहरकेन्द्रित तथा सदरमुकाम केन्द्रित हुँदा दुर्गम तथा ग्रामीण भेगका जनताहरु बैँकिङ पहुँचमा आउन नसकेको उनको भनाइ छ । बैँकहरु जनताको माग तथा आवश्यकता पूर्तिका लागि भन्दा पनि आफ्नै फाइदा तथा सहजताका लागि खुल्ने गलत प्रचलन नेपालमा विद्यमान छ । ग्रामीण भेगमा सेवा विस्तार गर्नु खर्चिलो हुने भएकाले बैँकहरु बजारमुखी भइरहँदा ग्रामीण भेगका जनता ऋण लिनका लागि साहु र पैसा राख्न टोपी या मोजालई विश्वास गर्छन् । बैँक के हो, यसले के गर्छ, यसमा जम्मा गरेको पैसा कहाँ जान्छ लगायतको जानकारी सबैमा हुनु जरुरी छ । बैँकमा जम्मा गरेको पैसा मुलुकको विकास निर्माणका कार्यमा लगानी गरिन्छ, बैँकमा राखेको पैसा सुरक्षित हुन्छ र आफूले चाहेको समयमा पैसा निकाल्न सकिन्छ भन्ने कुराको जानकारी हरेक नागरिकलाई गराउन वित्तीय साक्षरताको आवश्यकता महशूस गरि नेपाल राष्ट्र बैँकले आफ्नो मौद्रिक नितीमा वित्तिय साक्षरता अभियानको योजनालाई अघि सारेको छ । त्यस्तै, विभिन्न संस्थाहरु वित्तिय साक्षरता विस्तारमा जुटिरहेका छन् । वित्तिय पहुँच विस्तारका लागि विभिन्न बैँकहरुले शाखारहित सेवा विस्तारलाई अघि बढाएका छन् । हालसम्म नेपालमा ३६५ वटा शाखारहित सेवाको स्थापना भएको छ ।  

वित्तिय साक्षरताले मानिसलाई पैसा कमाउन, पैसाको व्यवस्थापन तथा लगानी गर्न सिकाउँछ । गत वैशाख १२ गतेको भुकम्पबाट थुप्रै जनधनको क्षति भयो । कति मानिसहरु घरबारविहिन भए । यद्यपि, भुकम्पका कारण भएको क्षतिको वीमा दावी गर्नेको संख्या जम्मा ११ प्रतिशत देखिएको वित्तिय महाशाखा प्रमुख आचार्यले जानकारी गराए । यसले के देखाउँछ भने सूचना र प्रविधिका क्षेत्रमा मुलुकले फड्को मारिरहँदा पनि वित्तिय जानकारीको क्षेत्रमा नेपाल निकै नै पछि परिरहेको छ । यदि उनीहरुले पहिले नै वीमा गराएका थिए भने उनीहरुको क्षतिपूर्ति वीमाबाटै हुने थियो भने सरकारको १५ हजार कुरेर पालमुनि वस्नुपर्ने अवस्था सायदै आउँथ्यो । त्यसैले वित्तिय सेवा लिँदा हुने फाइदाहरुबारे सबै सर्वसाधारणमा चेतना फैलाउन वित्तिय साक्षरताको अभियान अत्यावश्यक रहेको छ । नेपाल जस्तो गरीब, अशिक्षित र बेरोजगारको संख्या अत्याधिक रहेको मुलुकमा वित्तिय साक्षरताको आवश्यकता झनै बढि हुने सरोकारवालाहरु बताउँछन् । 

नेपालमा लगभग ८५ वर्ष पहिले नै सिक्काको प्रचलन सुरु भएको थियो । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यस्तै, वि.सं. २००४ मा नेपालमा कागजी नोटको सुरुवात भइसकेको थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैँकको स्थापना भएको थियो । नेपालमा बैँक स्थापना तथा पैसाको कारोबारको इतिहास लामो भएतापनि सबैमा वित्तिय सेवा सम्बन्धि जानकारी गराउन सरकार तथा बैँकिङ क्षेत्र चुकेको देखिन्छ । जसको फलस्वरुप, वित्तिय सेवा लिने नेपालीहरुको संख्या वृद्धि हुन सकिरहेको छैन । नेपालको ४३ प्रतिशत बचत अझै पनि बैँकिङ क्षेत्रबाट बाहिर रहेको नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरञ्जिवी नेपालले बताए । पैसाको मुभमेन्टबारे सर्वसाधारणलाई बुझाउन नसक्दा सो स्थिती देखिएको उनको बुझाइ छ । पैसा नभएर भन्दा पनि वित्तिय साक्षरताकै कमीका कारण ग्रामीण भेगहरुमा आर्थिक गतिविधि तथा पैसाको परिचालनका लागि बैँक तथा वित्तिय संस्थाहरुमा जाने प्रचलन कायम हुन नसकेको डा. नेपाल बताउँछन् । त्यसैले, पैसा कमाउनेदेखि यसको व्यवस्थापन सम्मको कुरा सानै उमेरदेखि बुझ्नु आवश्यक रहेको र यसको सुरुवात घर र स्कुलदेखि नै हुनुपर्ने उनको जोड छ । त्यस्तै, घर परिवारको बजेट छलफल तथा रकम परिचालन जस्ता विषयमा बालबालिकालाई पनि सरिक गराउनुपर्ने डा. नेपालको ठहर छ ।

वित्तिय साक्षरता अभियानलाई सशक्त बनाउन मिडियाले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउँछन् । मिडियाले सरकार र समाजको दूरीलाई मेटाउने काम गर्छ । त्यसमा पनि अनलाइन मिडिया एकदमै छिटो सञ्चार माध्यम भएकाले सूचना प्रवाहको क्षेत्रमा अनलाइन मिडियाको लोकप्रियता केही समययता ह्वात्तै बढेको पाइन्छ । त्यसैले अनलाइन मिडियाको माध्यमबाट वित्तिय साक्षरताको अभियान अघि बढाउनु एकदमै सकारात्मक कुरा भएको बैँकर्सहरु बताउँछन् । तथापि, बैँक तथा वित्त भनेको पैसासँग सम्बन्धित क्षेत्र भएकाले यो एकदमै संवेदनशील हुन्छ । यससम्बन्धि एक गलत समाचारले समग्र बैँकिङ क्षेत्र, लगानीकर्ता तथा सेवाग्राहीमा असर पार्ने हुन्छ । तसर्थ, वित्तिय क्षेत्रसँग जोडेर अनलाइन पत्रकारिता गर्दा जनतामा भ्रम फैलाउने, नकारात्मक तथा गलत प्रचारप्रसार गर्ने जस्ता कुराहरुबाट परै रहनु जरुरी हुन्छ ।