
कृष्ण बाबु घिमिरे
संसारमा पैसाको आविष्कार हुनु पूर्व पनि विनिमय चलेको थियो। मानिसले आफूसँग भएको वस्तु दिएर अरुबाट आफूलाई चाहिएको वस्तु साटेर लिन्थे।
यसरी हुने विनिमय वस्तुहरूको मूल्याङ्कनको प्रणालीमा समानता नहुने एक अर्कासँग भएका वस्तु दुवै पक्षले आवश्यक नपर्ने वस्तुलाई ससाना इकाइहरूमा विभाजन गर्न नसकिने लगायत समस्या देखिएपछि त्यसको विकल्पका रुपमा पैसाको आविष्कार भयो। नेपालमा पनि वस्तु विनिमयको युगदेखि लिच्छवी कालमा मानाङ गुडाङ्क मुद्रा हुँदै सिक्का तथा २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन भएको थियो ।
नेपाल राष्ट्र बैंकको स्थापना हुनु पूर्व नै नोट निष्कासन भइसकेकोले त्यसको उचित व्यवस्थापनका लागि नियमावली बनेको पाइँदैन। २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएसँगै नेपाली मुद्राको चलन बढाउने तथा व्यवस्थापन नियन्त्रण गर्ने ऐन २०१४ प्रकाशित भएको पाइन्छ ।
नेपालमा चलनचल्तीमा आएका नोटहरू कटे-फाटे च्यातीए आगोबाट जले रङ लागि नचल्ने भएमा यस्ता नोट ब्यवस्थापनको लागि नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली २०५९ बनेको छ।
हामी सबैले कुनै न कुनै प्रकारबाट काटे फाटेको अनि पुरानो रङ लगाएका नोट पाएका हुन्छौं। ती नोटहरुलाई तपाईंले बजारमा कारोबारको लागि लैजाँदा मानिसहरुले सजिलै स्वीकार्दैनन । कहिलेकाहीँ एटीएम मेसिनबाट रकम झिक्दा नोट च्यातिने वा खराब नोट निस्कन सक्छ। त्यसो हुँदा आत्तिनु पर्दैन ।
कस्ता नोट सट्टा भर्ना (साट्न) गर्न सकिन्छ?
१) छपाइमा त्रुटि भई बजारमा गएको नोट
२)आगलागि वा प्रकोपमा परी क्षति भएका नोट (यस्तो घटना भएमा नोट सट्टाको निम्ति स्थानीय सरकारबाट सिफारिस लैजानुपर्नेछ) ।
३) कुनै नोटको ५०% भन्दा कम भाग च्यातिएको

४) किराले खाएको, च्यातिएको
५) पानीले भिजी वा अन्य कुनै किसिमले चलनचल्तीयोग्य नभएमा
६) एकभन्दा बढी ठाउँमा च्यातिएको वा टुक्रिएको नोट
७) नोटमा भएको अङ्क नमेटिएको हुनुपर्ने
८) मनोमानी ढङ्गले नलेखेको नसच्याएको
नोटलाई मनी ब्यागमा राख्ने, केरमेट नगर्ने, पानी भएको हातले नछुने लगायतका नियम हामीले फलो गर्नुपर्छ । नोटलाई काम नलाग्ने बनाउने, नोटमा लेख्ने, जलाउने, फोहोर पार्ने जस्ता कामहरू नागरिकले गर्नुहुँदैन ।
कस्तो नोट सट्टा भर्ना (साट्न) सकिँदैन।
१) नोटको दर र पूरा नम्बर १ हुन न नसक्ने वा ५०% भन्दा कम नोटको भाग पेश भएको वा दोहोरो सट्टा भर्न जान सक्ने अवस्था विद्यमान रहेमा
२)मनोमानी तरिकाले केरमेट गरेको लेखेको

३) कुनै एउटा नोटको भागमा अर्को नोटको भाग जोडी ल्याएको पाइएमा
४) कुनै नोटको नम्बरमा केरमेट गरी खुर्की टाँसी वा यस्तै कुनै किसिमबाट सच्चाएर ल्याएको पाइएमा
५) नक्कली नोट भएको शङ्का भएमा
सट्टा भर्ना कहाँ गर्न सकिन्छ?
सर्वसाधारणसँग रहेका झुत्रा नोट राष्ट्र बैंकले नै फिर्ता लिन्छ। राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग, राष्ट्र बैंकका प्रदेशस्थित सम्पूर्ण कार्यालयहरू तथा नोटकोष सञ्चालन गर्ने सम्पूर्ण वाणिज्य बैंकहरूबाट झुत्रो नोट साट्न सकिन्छ ।
झुत्रो नोट साट्न झुत्रो नोट बैंकमा पेश गर्नुपर्दछ । यदि झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ।
बैंकमा सट्टा भर्नाको लागि दाबी परेको नोट पेश भएको मितिले ३५ दिनभित्र बैंक अधिकारीले जांचबुझ गरि सट्टा भर्ना हुने नहुने निर्णय लिनेछन र १२० दिनभित्र दाबीवालालाई रकम लिइसक्नुपर्नेछ सो समयमा दाबीवालाले रकम नबुझे बैंकले आम्दानीमा बाँध्नेछ।
नोटको हिफाजत गर्ने दायित्व र राज्यलाई पर्ने भार
नोटमा धेरै किसिमका आयाम हुन्छन् । जसमध्ये एउटा महत्वपूर्ण पाटो आर्थिक हो । नोट नेपालमा छापिंदैन । गुणस्तर तथा सुरक्षाका लागि सरकारले नोटलाई बाहिर छाप्नुपर्छ । विदेशमा छाप्दा औसतमा हाम्रो वार्षिक अढाइ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिन्छ ।
त्यसैले नोटको जतन गर्नु भनेको हामीले विदेशी मुद्रा बचाउनु पनि हो । नोटको सुरक्षा गर्नु सबै नागरिकको दायित्व हो । विदेशमा छाप्न मात्रै होइन छापेको नोट ल्याउन र काठमाडौं ल्याइसकेपछि पनि विभिन्न ठाउँमा पठाउनुपर्ने हुन्छ ।
यहाँ आन्तरिक व्यवस्थापनमा पनि हाम्रो निकै ठूलो खर्च हुन्छ । यदि नोटको सुरक्षा गर्न सक्ने हो भने हाम्रो ठूलो रकम बचत हुन्छ ।
अर्को हाम्रो धार्मिक र सांस्कृतिक सम्पत्ति समेत हो नोट । हाम्रा जैविक तथा प्राकृतिक सम्पदाहरू नोटमा राखेका हुन्छौं । ‘बर्थ प्लेस अफ लर्ड बुद्ध’ ’ भनेर नोटमा लेखिएको हुन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा पनि नोटमा हुन्छ ।
यो भनेको हाम्रो प्राकृतिक तथा सांस्कृतिक सम्पदा नोटमा राखिएको हुन्छ । त्यस कारण पनि नोटको संरक्षणमा हामी सबैले ध्यान दिनुपर्छ ।
विश्वमा देशको प्रचारप्रसार गर्ने एउटा माध्यम पनि नोट हो । कुनै विदेशी नेपाल आएपछि उसले नेपाली रुपैयाँ साट्नुपर्छ । हाम्रो देशको बारेमा धेरै कुरा नोटमै देखिन्छ र उसले नेपालमा केके रहेछ भनेर नोट मार्फत जानकारी पाउँछ ।
बुद्ध नेपालमा जन्मेका रहेछन्, सगरमाथा नेपालमा रहेछ भन्ने कुरा त्यो विदेशीले नोटबाट पनि जानकारी पाउँछ । यसरी नोटको माध्यमबाट पनि विश्वमा हाम्रो प्रचारप्रसार भइरहेको हुन्छ । यो धेरै राम्रो कुरा हो ।
नोटको राज्यको सम्पत्ति हो यसको सुरक्षा गर्नु हामी सबैको दायित्व हो । राज्यको ठूलो खर्च जोगाउनका लागि पनि हामीले यसमा ध्यान दिनुपर्छ । सकेसम्म डिजिटल कारोबार गर्नुपर्छ । नोट राख्नुपर्दा जतनसाथ चलाउनुपर्छ ।
नोटलाई मनी ब्यागमा राख्ने, केरमेट नगर्ने, पानी भएको हातले नछुने लगायतका नियम हामीले फलो गर्नुपर्छ । नोटलाई काम नलाग्ने बनाउने, नोटमा लेख्ने, जलाउने, फोहोर पार्ने जस्ता कामहरू नागरिकले गर्नुहुँदैन ।
यो पनि जानी राखौं
नोटमा मनोमानी लेखेमा, कोरेमा वा काटकुट गरि स्वरुप बिगारेमा के हुन्छ? नोटमा मनोमानी लेखेमा, कोरेमा वा काटकुट गरि स्वरुप बिगारेमा सो नोट जफत हुनुका साथै तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना समेत हुन सक्छ ।
(उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)
