
बैंकिङ खबर/ प्रशान्त महासागरमा अवस्थित टापु तुभालुमा पहिलो पटक एटीएम मेसिन पुगेको छ । अस्ट्रेलिया र हवाई टापुको बीचमा रहेको यो देशमा हालसम्म स्थानीय र आगन्तुकले नगदमा कारोबार गर्दै आएका थिए । त्यसैले यही अप्रिल १५ दिन पहिलोपटक एटीएम मेसिन खुल्दा मुलुकमा ठूलै उत्सव मनाइएको छ।
मुलुकको प्रमुख टापु फुनाफुटीमा नयाँ एटीएम मेसिनअगाडि जम्मा भएका सरकारी अधिकारीहरूमाझ प्रधानमन्त्री फेलेटी टियोले यो महत्त्वपूर्ण कोसेढुंगा भएको बताए। मंगलबार उनले एटीएम उद्घाटन गर्दै विशाल चकलेट केक काटे। नेसनल ब्यांक अफ तुभालुका महाप्रबन्धक सियोस टियोले यो महान् उपलब्धि भएको उल्लेख गर्दै यसले तुभालुका जनताका लागि आर्थिक सबलीकरणको ढोका खोल्ने बताए। तुभालुको जनसंख्या करिब ११ हजार २ सय छ। यो विश्वकै साना मुलुकमध्ये एक हो। जसका साना ९ टापुको जम्मा क्षेत्रफल १० वर्गमाइल मात्र छ। धेरै मानिस यहाँ भ्रमणमा आउँदैनन्। २०२३ मा जम्मा ३ हजार पर्यटकले यो देश घुमेका थिए।



