बैंकिङ खबर/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा १ सय ८५ देश तथा क्षेत्रलाई निसाना बनाइएको छ । ट्रम्पको नयाँ घोषणालाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापार व्यवस्थाको सबैभन्दा ठूलो उथलपुथलका रूपमा हेरिएको छ ।
करिब ९० देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाउनेछ भने अन्य देशबाट हुने सबै आयातमा १० प्रतिशत कर लाग्नेछ । ट्रम्पका अनुसार अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको भन्सार महसुलको करिब ५० प्रतिशत भन्सार महसुल लगाउनेछ ।
ट्रम्पले चीनमाथि ३४ प्रतिशत, भारतमाथि २६ प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत र युरोपेली संघमाथि २० प्रतिशत आयात शुल्क घोषणा गरेका हुन् । भियतनाममाथि ४६ र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल घोषणा गरिएको छ । नेपाल भने १० प्रतिशत भन्सार शुल्क लाग्ने देशको सूचीमा परेको छ ।
राष्ट्रपति ट्रम्पको घोषणाअनुसार १० प्रतिशत शुल्क ५ अप्रिलदेखि र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुनेछ । नयाँ कर घोषणालाई ट्रम्पले ‘मुक्ति दिवस’ को रूपमा ब्याख्या गर्दै ट्रम्पले अमेरिका र चीनदेखि युरोपेली संघसम्मका अन्य देशहरू बीचको व्यापार घाटा अन्त्य गर्न नयाँ कर नीति आवश्यक भएको बताए ।




