बैंकिङ खबर/ मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर र इन्टरनेटको प्रयोग गरी प्राप्त गर्न सकिने विविध किसिमका वित्तीय सेवालाई विद्युतीय वित्तीय सेवा भनिन्छ ।
विद्युतीय वित्तीय सेवाका विभिन्न उपकरणहरुः
१. डेविट कार्ड
डेविट कार्ड बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने एक किसिमको विद्युतीय कार्ड हो । यस कार्डद्वारा सजिलै आफ्नो खातामा भएका रकम एटीएम मेसिनबाट झिक्न र खाताको मौज्दातको जानकारी लिन सकिन्छ । यसका अलावा वस्तु तथा सेवा खरिदको भुक्तानीको लागि ओपिएस मेशिनमा पनि प्रयोग गर्न सकिन्छ । यसबाट खातामा भएको मौज्दात रकमको सीमासम्म मात्र नगद झिक्न वा भुक्तानी गर्न मिल्छ ।
२. क्रेडिट कार्ड
क्रेडिट कार्डद्वारा सेवाग्राहीले कर्जा सुविधा प्राप्त गर्दछन् र आफ्नो खातामा रकम नभएपनि वस्तु तथा सेवा बापतको भुक्तानी दिन सक्दछन् । निश्चित सीमाको रकमसम्म तोकिएको मितिमा भुक्तानी हुने गरी यस्तो कार्ड जारी गरिएको हुन्छ ।
३. मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ
मोबाइल फोनको प्रयोग गरी बैंकिङ सेवा लिन सक्ने व्यवस्थालाई मोबाइल बैंकिङ भनिन्छ । यो सुविधा लिन आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाको मोबाइल एप आफ्नो मोबाइल फोनमा डाउनलोड गरेपश्चात् एप एक्टिभ गर्नुपर्दछ ।
उक्त सुविधा लिए पछि मोबाइल फोनमार्फत नै एउटा खाताबाट अर्कोमा रकम पठाउन, टेलिफोन, पानी, बत्तीको महसुल तिर्न, मोबाइल रिचार्ज गर्न, विद्यालय, कलेजको शुल्क तिर्न, बस, एयरलाइन्स वा फिल्मका टिकट किन्न, राजस्व तिर्न, बिमा प्रिमियम तिर्न लगायत विविध किसिमको भुक्तानी गर्न सकिन्छ ।
त्यस्तै, इन्टरनेटको माध्यमबाट कम्प्युटरको प्रयोग गरी आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको प्रणालीमा आबद्ध भई वित्तीय कारोबार गर्न सकिने व्यवस्थालाई इन्टरनेट बैंकिङ भनिन्छ । यो उपकरणमार्फत पनि मोबाइल बैंकिङको जस्तै सुविधाहरु उपभोग गर्न सकिन्छ ।
४. मोबाइल वालेट
मोबाइल वालेट एक भर्चुअल थैली हो जसमा क्रेडिट कार्ड, डेविट कार्ड वा बैंक खातासम्बन्धी जानकारीहरु हुन्छन् । यस्ता जानकारीहरु मोबाइल फोनमा डाउनलोड गरिएका एपमार्फत उपयोग गर्न सकिन्छ । यो प्रविधिबाट सेवाग्राहीले मोबाइल बैंकिङमा जस्तै मोबाइलको प्रयोग गरी वित्तीय सेवाहरु उपभोग गर्न सक्दछन् ।
५. क्युआर कोड
क्युआर कोड एक किसिमको barcode हो जसमा जानकारी तथा सूचनाहरु भण्डारण हुन्छन् र विद्युतीय उपकरणको माध्यमबाट ती जानकारी तथा सूचनाहरु पढ्न सकिन्छ । भुक्तानी गर्नुपर्ने संस्था वा व्यक्तिको क्युआर कोडलाई वालेट वा मोबाइल एपबाट स्क्यान गरी कारोबार गर्न सकिन्छ । यसको प्रयोग गर्दा भुक्तानी प्राप्त गर्नेको विवरणआफूले भर्नुपर्दैन ।




