March 24th, 2025

बैंकिङ अपराध : एक महिनामा ४ हजार मुद्दा दर्ता, बढी बैंकिङ कसुर

बैंकिङ खबर/ पछिल्लो समय बैंकिङ कसुरका मुद्दा दर्ता बढ्दै गएको पाइएको छ । फागुनमा देशभर ४ हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएकामा सबैभन्दा धेरै बैंकिङ कसुरका १ हजार १२७ मुद्दा छन् । जुन कुल मुद्दाको २५.२२ प्रतिशत हो।

काठमाडौं उपत्यकामा अपराधका घटना धेरै देखिएको छ र बैंकिङ कसुरका मुद्दा पनि त्यहीँ बढी दर्ता भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बैंकिङ कसुरमा चेक बाउन्सका घटना धेरै छन्।

उनले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध बढ्दै गएको बताए। बैंकिङ कसुरका १,१२७ मुद्दापछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका ५२१ मुद्दा दर्ता भएका छन्।

त्यस्तै, आत्महत्यासम्बन्धी ५०१, लागुऔषधसम्बन्धी ४१९, चोरीका २८६, जबर्जस्ती करणीका १६८, ठगीका १६२, सवारी ज्यानका १५४, ज्यान मार्ने उद्योगका ७१ र कर्तव्य ज्यानका ४२ मुद्दा प्रहरीमा दर्ता भएका छन्।