बैंकिङ खबर / नेपालको बैंकिङ क्षेत्रको नेतृत्व चयन प्रक्रिया अब पहिलेभन्दा थप पारदर्शी र जिम्मेवार बन्ने भएको छ। बैंक तथा वित्तीय संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापन तहमा पुग्ने व्यक्तिको योग्यता मात्रै होइन, उनीहरूको विगतको आचरण, वित्तीय अवस्था र कानुनी पृष्ठभूमिसमेत परीक्षण हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै नेतृत्व तहका नियुक्तिमा थप विवरण अनिवार्य गरेको हो। अब बैंकहरूले कुनै पनि व्यक्ति सञ्चालक, सीईओ वा उच्च व्यवस्थापन पदमा नियुक्त गर्दा सो व्यक्तिको विस्तृत विवरण संकलन गरी राष्ट्र बैंकमा समेत बुझाउनुपर्नेछ।
‘पद’ होइन, अब ‘पृष्ठभूमि’ पनि हेर्ने नीति
यसअघि बैंक नेतृत्व चयन गर्दा मुख्य रूपमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक क्षमतामा बढी ध्यान दिइन्थ्यो। तर पछिल्लो व्यवस्थाले नेतृत्वमा आउने व्यक्तिको व्यक्तिगत तथा वित्तीय विश्वसनीयतालाई पनि केन्द्रमा राखेको छ। अब नियुक्त हुने व्यक्तिले विगतमा कुनै आपराधिक गतिविधिमा संलग्न भए वा नभएको, कुनै मुद्दा, अनुसन्धान वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहे वा नरहेको विषयमा स्वघोषणा गर्नुपर्नेछ। त्यस्तै सरकारी बक्यौता, कर दायित्व, कर्जा कालोसूची तथा अन्य वित्तीय अनुशासनसम्बन्धी विवरणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकिङ नेतृत्वमा ‘स्वार्थको द्वन्द्व’ रोक्ने प्रयास
बैंकिङ क्षेत्र विश्वासमा चल्ने व्यवसाय हो। सञ्चालक वा उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिको व्यक्तिगत स्वार्थ र संस्थागत निर्णयबीच टकराव भए त्यसले बैंकको जोखिम बढाउन सक्छ। त्यसैले राष्ट्र बैंकले अब नियुक्त हुने व्यक्तिसँग सम्भावित स्वार्थको द्वन्द्व भए नभएको विवरणसमेत माग गरेको छ। यसले बैंकको निर्णय प्रक्रियालाई थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार नेपाली नागरिकले विदेशमा कुनै सम्पत्ति राखेको छ वा कुनै सम्पत्तिको वास्तविक धनी ९बेनिफिसियल ओनर० भएको छ वा छैन भन्ने विवरण पनि खुलाउनुपर्नेछ। यो व्यवस्थाले बैंक नेतृत्वमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता र वित्तीय सुशासन कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
पुराना पदाधिकारी पनि निगरानीमा
नयाँ व्यवस्था अबदेखि नियुक्त हुने व्यक्तिमा मात्रै सीमित छैन। यसअघि नै बैंक तथा वित्तीय संस्थामा कार्यरत सञ्चालक, सीईओ र उच्च व्यवस्थापन तहका पदाधिकारीले पनि आफ्नो विवरण राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। भविष्यमा विवरण परिवर्तन भएमा त्यसलाई अद्यावधिक गरी केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रमा सुशासन, कर्जा प्रवाहमा अनुशासन र संस्थागत जोखिम व्यवस्थापनका विषयहरू बढी चर्चामा आएका छन्। बैंकको नेतृत्वमा रहने व्यक्तिको निर्णयले हजारौँ निक्षेपकर्ता, लगानीकर्ता र समग्र वित्तीय प्रणालीमा प्रभाव पार्ने भएकाले राष्ट्र बैंकले नेतृत्व छनोटमै थप निगरानी बढाएको देखिन्छ। बैंक तथा वित्तीय संस्थामा कमजोर सुशासन वा गलत निर्णयका कारण समस्या सिर्जना हुन नदिन नेतृत्व तहमा जाने व्यक्तिको विश्वसनीयता सुनिश्चित गर्नु अहिलेको आवश्यकता बनेको छ।
बैंकिङ क्षेत्रमा नयाँ सन्देश
राष्ट्र बैंकको पछिल्लो कदमले बैंक नेतृत्वलाई केवल अनुभव र पहुँचको आधारमा होइन, नैतिकता, वित्तीय अनुशासन र सार्वजनिक विश्वासको आधारमा मूल्यांकन गर्ने संकेत दिएको छ। अब बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा पुग्न चाहने व्यक्तिले आफ्नो व्यावसायिक क्षमता मात्र होइन, व्यक्तिगत वित्तीय इतिहास र कानुनी पृष्ठभूमि पनि सफा राख्नुपर्ने अवस्था आएको छ। यसले दीर्घकालमा नेपालको बैंकिङ क्षेत्रलाई थप जिम्मेवार, पारदर्शी र विश्वसनीय बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।




