काठमाडौं / मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीका सञ्चालकहरू नन्दकिशोर राठी, मनोजकुमार गोयल, शरद गोयल तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द नेपालले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।कम्पनीले विपद् तथा कठिन परिस्थितिबाट प्रभावित नागरिकलाई राहत र सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिएको जनाएको छ ।
मारुती सिमेन्ट्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग तथा योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । विपद्को समयमा पीडित तथा प्रभावित नागरिकसँग हातेमालो गर्नु आफ्नो सामाजिक दायित्व भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।