Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भोटेकोशी बाढीपीडितका लागि एडीबीले दिने भयो ७६ करोड रुपैयाँ आपतकालीन सहायता

२०८३ भाद्र १९ गते

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ बराबरको आपतकालीन सहायता दिने भएको छ। एडीबीले ५० लाख अमेरिकी डलर अर्थात् करिब ७६ करोड रुपैयाँको अनुदान सहायता घोषणा गरेको हो। १० भदौमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। एडीबीका अनुसार अनुदान रकम तत्काल उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ।

एडीबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला नेपाली जनताको साथमा रहन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, अस्थायी बासस्थान, औषधि तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन अनुदान रकम उपयोग हुनेछ। एडीबीले यो सहायता ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट उपलब्ध गराउन लागेको हो। रकम खोज तथा उद्धारका उपकरण, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, खानेपानी, अस्थायी आवास, सरसफाइका सामग्री र बाढीले थुपारेको भग्नावशेष हटाउने काममा खर्च गरिनेछ। त्यसैगरी आपतकालीन पुनर्स्थापनाका लागि आवश्यक व्यवस्थापन तथा ढुवानीमा समेत यो रकम प्रयोग हुनेछ। बाढीपछि गरिने पुनर्निर्माणका लागि एडीबीले थप सहयोगको तयारीसमेत गरिरहेको जनाएको छ। विपद्पछिको आवश्यकता आकलन, पुनर्स्थापना योजना र पुनर्निर्माणका लागि थप १ लाख ५० हजार अमेरिकी डलरसम्म सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको एडीबीले जनाएको छ।

नेपालमा एडीबीको ९.४ अर्ब डलर प्रतिबद्धता
नेपालको विकास साझेदारका रूपमा एडीबीको भूमिका लामो समयदेखि महत्वपूर्ण रहँदै आएको छ। एडीबीका अनुसार सन् २०२५ को अन्त्यसम्म नेपालका लागि सार्वजनिक क्षेत्रमा ५२९ वटा ऋण, अनुदान र प्राविधिक सहायता गरी कुल ९.४ अर्ब अमेरिकी डलर प्रतिबद्धता गरिएको छ। त्यसमध्ये सार्वजनिक तथा निजी क्षेत्रका ऋण र अनुदानको वास्तविक भुक्तानी ६.०९ अर्ब डलर पुगेको छ। एडीबीले नेपालमा पूर्वाधार, ऊर्जा, खानेपानी, सहरी विकास, निजी क्षेत्र, वित्तीय क्षेत्रलगायत विभिन्न क्षेत्रमा लगानी तथा सहयोग गर्दै आएको छ। पछिल्लो समय डिजिटल रूपान्तरणमा समेत एडीबीको सहयोग विस्तार भएको छ। सन् २०२६ मा नेपालका डिजिटल सेवा, डेटा पूर्वाधार र साइबर सुरक्षासहितका क्षेत्रमा काम गर्न एडीबीले ४ करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। एडीबीले नेपालका लागि सन् २०२५-२०२९ को साझेदारी रणनीतिमा समावेशी, उत्थानशील, हरित र रोजगारीमुखी आर्थिक विकासलाई प्राथमिकता दिएको छ। प्राकृतिक विपद् तथा जलवायु जोखिम न्यूनीकरण पनि रणनीतिक प्राथमिकतामध्ये एक हो।  भोटेकोशी बाढीको पछिल्लो सहायता पनि यही विपद् प्रतिकार्य र उत्थानशीलता केन्द्रित सहयोगको निरन्तरताका रूपमा आएको छ। एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारसँग समन्वय गरेर राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने जनाएको छ।