March 24th, 2025

राष्ट्र बैंकको अध्ययनः कोशीमा उत्पादित चियामध्ये ८६.७२ प्रतिशत निर्यात

बैंकिङ खबर/ राष्ट्र बैंकले हालै गरेको एक अध्ययनले मुलुकमा उत्पादित चिया उद्योगको कुल बिक्री आयमा निर्यातको हिस्सा ८६.७२ प्रतिशत रहेको देखिएको छ । चिया उद्योगको प्रमुख आय अन्तर्राष्ट्रिय बजारबाट प्राप्त हुने भएकाले आर्थिक सफलता निर्यातमा निर्भर रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

केन्द्रीय बैंकले कोशी प्रदेशमा उत्पादित चियाले राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानबारे गरेको अध्ययनमा चिया उत्पादन तथा प्रशोधनबाट दुई अर्ब ८३ करोड रुपैयाँको मूल्य अभिवृद्धिसमेत हुने गरेको औँल्याइएको छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा चियाको हिस्सा ०.०५ प्रतिशत र कोशीको जिडिपीमा मात्रै ०.३३ प्रतिशत योगदान रहेको उल्लेख छ ।

कोशी प्रदेशमा हाल आर्गानिक सर्टिफाइड भएका २१ र नभएका ७९ गरी कुल एक सय अर्थाेडक्स चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । अध्ययनअनुसार अर्गानिक सर्टिफिकेसन लिएर २७ हजार सात सय ८८ रोपनी क्षेत्रफलमा र अर्गानिक सर्टिफिकेसन नलिई एक लाख ४७ हजार पाँच सय ५६ रोपनी क्षेत्रफलमा गरी कुल एक लाख ७५ हजार तीन सय ४४ रोपनी क्षेत्रफलमा अर्थोडक्स चियाखेती हुने गरेको छ ।

आर्थिक वर्ष ०७९/८० मा कुल ७८ लाख ३८ हजार नौ सय ४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएकोमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत छ ।

अध्ययनमा सहभागी ८४ अर्थोडक्स चिया उद्योगहरूमा कुल लगानी तीन अर्ब ६८ करोड ७४ लाख रहेको र त्यसमध्ये ३६.४ प्रतिशत हिस्सा ऋणको तथा ६३.६ प्रतिशत हिस्सा स्वपुँजी रहेको अध्ययनका क्रममा भेटिएको छ । दुईवटा उद्योगमा मात्रै वैदेशिक लगानी छ ।

अध्ययनमा सहभागी अर्थोडक्स चिया उद्योगहरूले व्यक्तिगत किसान, किसान समूह, सहकारीबाट खरिद गर्ने तथा आफ्नै बगानबाट उत्पादन गर्ने हरियो पत्ताको प्रतिकेजी औसत खरिद मूल्य ५४.९३ छ । यसमा अर्गानिक सर्टिफाइडको ८७ रुपैयाँ र अनसर्टिफाइड अर्थोडक्स चिया उद्योगहरूको प्रतिकेजी औसत खरिद मूल्य क्रमशः ४९.३५ रुपैयाँ पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात २१.६३ प्रतिशत रहेको छ भने अर्गानिक अनसर्टिफाइड अर्थोडक्स चियाको तेस्रो मुलुकमा निर्यात न्यून मात्रामा छ । ०७९/८० मा कोशी प्रदेशमा सञ्चालित अर्थोडक्स चिया उद्योगहरूको औसत क्षमता उपयोग ५६.२१ प्रतिशत छ । उद्योगहरू कम क्षमतामा सञ्चालन हुनुको प्रमुख कारणमा कच्चा पदार्थको अभाव, विद्युत् आपूर्तिमा अनियमितता, प्राविधिक र दक्ष जनशक्तिको अभाव, मागमा कमी रहेको अध्ययनको निष्कर्ष छ ।

Special-Study-Orthodox-Tea-Koshi-Province