March 10th, 2025

बैंकहरुले ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ: प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई ऋणीहरूप्रति कठोर व्यवहार नगर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा प्रधानमन्त्री ओलीले बैंकहरूले अप्ठ्यारोमा परेका ऋणीहरूलाई सहयोग गर्नुको साटो झन् कठिन परिस्थितिमा पार्ने व्यवहार गर्ने गरेको टिप्पणी गरे ।

ओलीले ऋण नतिर्नेलाई खराब ऋणी भनिए पनि साहु खराब हुने भन्दै असहज परिस्थतिमा घाँटी निचोर्ने काम गर्न नहुने बताए। ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’

ऋणी अप्ठ्यारोमा परेको बेला बैंकले उनीहरुलाई सहयोग गर्नुपर्ने ओलीको भनाइ छ । ‘जब ऋणी अप्ठ्यारोमा पर्छ, तब बैंकहरूले तिनलाई थप सहयोग गर्नु आवश्यक छ,’ ओलीले भने, ‘ऋण असुल्न हतार गर्ने होइन, व्यवसायलाई जोगाउने उपाय खोज्नुपर्छ, ताकि ऋण फिर्ता गर्ने वातावरण तयार होस् ।’

उद्योगी व्यवसायीहरू आर्थिक कठिनाइमा पर्दा बैंकहरू उनीहरूबाट तत्काल असुली गर्न केन्द्रित हुने प्रवृत्ति रहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्तो व्यवहार परिवर्तन गर्न सुझाव दिए ।

‘धेरैजसो ऋणीहरू ऋण तिर्न चाहन्छन्, तर कहिलेकाहीं परिस्थितिले अप्ठ्यारो पार्छ,’ उनले भने, ‘बैंकहरूले कठोर नीति अपनाएर होइन, उचित समाधान खोजेर ऋण उठाउनुपर्छ । यदि ऋणीलाई डुब्नबाट जोगाइयो भने मात्र उसले ऋण तिर्न सक्छ ।’

प्रधानमन्त्री ओलीले आर्थिक क्षेत्रमा सहकार्य आवश्यक रहेको भन्दै बैंकहरूलाई ऋणीहरूप्रति सहानुभूतिपूर्ण र दीर्घकालीन सोच राखेर काम गर्न आग्रह गरे ।