बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको बताएका छन् । ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्रीको टिप्पणी छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा प¥यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ । उद्योगहरुको सन्दर्भमा पनि त्यही हो ।’
उद्योगी व्यवसायीहरु अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको भन्दै प्रधानमन्त्रीले त्यस्तो व्यवहार नगर्न सुझाव दिए । प्रधानमन्त्री ओलीले भने, ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’
कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहिँ परिस्थितिले अप्ठ्याराहरु आउने बताए । अप्ठ्यारोमा परेकाहरुलाई मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए ।