
बैंकिङ खबर / सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ८५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.७५ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष असोज मसान्तसम्म ३२ करोड ४० लाख रुपैयाँ नाफा गरेको बैंकले यसपटक ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ कमाएको हो ।
बैंकको नाफा वृद्धिसँगै सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ५० करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १ अर्ब २५ करोड ५ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशतले बढेको छ भने कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाबापतको खर्चमा आएको कमीले नाफा वृद्धिलाई थप बल दिएको छ ।
बैंकको नियमित बैंकिङ कारोबारबाट हुने खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ थियो । शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी पनि १०.९४ प्रतिशतले वृद्धि भई ५७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको ट्रेडिङ आम्दानी करिब दोब्बर भएको छ । अघिल्लो वर्ष ९ करोड ८० लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । तर, अन्य सञ्चालन आम्दानीमा भने गिरावट आएको छ । गत वर्ष ३१ करोड ५५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा घटेर १६ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।
आम्दानीका यी सूचकमा सुधार देखिए पनि बैंकको ब्याजदर अन्तर भने केही खुम्चिएको छ । बैंकको कोषको लागत ४.१२ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा आएको छ । आधार दर पनि ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशत कायम भएको छ । तर, ब्याजदर अन्तर अघिल्लो वर्षको ३.९८ प्रतिशतबाट घटेर ३.६८ प्रतिशतमा झरेको छ ।
कर्जा गुणस्तरका हिसाबले भने बैंकको निष्क्रिय कर्जा अनुपातमा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.८० प्रतिशत रहेको यस्तो अनुपात चालु आर्थिक वर्षको असोज मसान्तमा ३.७० प्रतिशत कायम भएको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात १२.२१ प्रतिशतबाट बढेर १२.२९ प्रतिशत पुगेको छ ।
नाफा वृद्धिको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ रुपैयाँ ८२ पैसा रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी यस वर्ष बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा रहेको छ ।
यसैबीच, बैंकले असोज मसान्तसम्म ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ वितरणयोग्य रकम देखाएको छ । यसमा ऋणपत्र परिपक्व भएपछि पुँजी समायोजन जगेडामा सारिएको रकमसमेत समावेश छ । गत भदौ २५ गते २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र परिपक्व भएपछि त्यससँग सम्बन्धित क्यापिटल रिडेम्पसन रिजर्भ पुँजी समायोजन जगेडामा स्थानान्तरण गरिएको हो । उक्त जगेडामा यसअघि ६८ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
बैंकले पुँजी समायोजन जगेडाबाहेक वार्षिकीकरण गरिएको वितरणयोग्य नाफाको सूचक ६.०७ प्रतिशत र जगेडासमेत समावेश गर्दा २५.६३ प्रतिशत रहेको जनाएको छ । यसले वितरणयोग्य रकमको गणनामा जगेडाको भूमिका महत्त्वपूर्ण रहेको देखाउँछ ।
पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा उल्लेख्य वृद्धि भएको छ । ब्याज आम्दानी, शुल्क तथा कमिसन र ट्रेडिङ आम्दानीमा भएको सुधारसँगै नोक्सानी व्यवस्थाको खर्च घट्नुले वित्तीय नतिजालाई बलियो बनाएको देखिन्छ ।