Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासिक नाफा ६७ करोडमा सीमित

२०८३ कार्तिक १६ गते

बैंकिङ खबर / स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घटेको छ । करअघिको नाफा बढे पनि आयकर खर्चमा भएको वृद्धिका कारण बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा कम भएको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीसमेत घटेका छन् ।

बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६९ करोड २१ लाख रुपैयाँ थियो । यसअनुसार बैंकको नाफा २.९९ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको करअघिको नाफा भने ८.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ४० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ९८ करोड ८८ लाख रुपैयाँ थियो । तर, आयकर खर्च ३५.७२ प्रतिशतले बढेर ४० करोड २६ लाख रुपैयाँ पुगेपछि करअघिको नाफामा भएको सुधार खुद नाफामा देखिन सकेन । अघिल्लो वर्ष बैंकको आयकर खर्च २९ करोड ६६ लाख रुपैयाँ थियो ।

बैंकको आम्दानीका प्रमुख स्रोतमा भने संकुचन आएको छ । खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर १ अर्ब २ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी २५.७४ प्रतिशतले घटेर ३० करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।

ट्रेडिङ कारोबारबाट हुने आम्दानीमा भने सुधार देखिएको छ । बैंकको खुद ट्रेडिङ आम्दानी अघिल्लो वर्षको १९ करोड १५ लाख रुपैयाँबाट बढेर २९ करोड ४८ लाख रुपैयाँ पुगेको छ । यो ५३.९६ प्रतिशतको वृद्धि हो । ट्रेडिङ आम्दानी बढे पनि ब्याज तथा शुल्क आम्दानीमा आएको गिरावटको प्रभावका कारण बैंकको कुल सञ्चालन आम्दानी २.८२ प्रतिशतले घटेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँमा झरेको छ ।

बैंकको निक्षेप र कर्जा प्रवाहमा भने सामान्य विस्तार भएको छ । गत असार मसान्तको तुलनामा निक्षेप १.१५ प्रतिशतले बढेर १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कर्जा तथा सापटीको खुद मौज्दात पनि १.७० प्रतिशतले बढेर ६७ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ४७.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो अनुपात ६५.१५ प्रतिशत थियो ।

कर्जा गुणस्तरतर्फ बैंकको निष्क्रिय कर्जा अनुपातमा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष १.७१ प्रतिशत रहेको यस्तो अनुपात चालु वर्षको पहिलो त्रैमासमा १.८३ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जाको तुलनामा कायम गरिएको कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १५४.३८ प्रतिशतबाट घटेर १४२.५९ प्रतिशतमा आएको छ । यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १९.०१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १८.६० प्रतिशत थियो ।

बैंकको कोषको लागत घटेर २.३७ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यस्तो लागत २.८९ प्रतिशत थियो । आधार दर पनि ४.२७ प्रतिशतबाट घटेर ३.९४ प्रतिशतमा आएको छ । ब्याजदर अन्तर भने सामान्य बढेर ३.६८ प्रतिशत पुगेको छ ।

१० अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २७ रुपैयाँ ५७ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ १० पैसा रहेको छ ।

Ad