बैंकिङ खबर/ सर्वोच्च अदालतको फैसलासँगै बैंक तथा वित्तीय संस्थाका ट्रेड युनियनको नवीकरण हुन छाडेको छ । श्रम तथा व्यवसायजन्य रोजगार विभागअन्तर्गत श्रम कार्यालयहरूले बैंक तथा वित्तीय संस्थालाई प्रतिनिधित्व गर्ने कर्मचारी संगठनको नवीकरण रोकिदिएको हो । नेपाल एसबीआई बैंक कर्मचारी युनियनले नवीकरणका लागि पेस गरेको फाइल श्रम कार्यालय टेकुले फर्काइदिएको छ ।
फागुन २ गते सर्वोच्च अदालतले विशेष ऐन तथा विशेष आर्थिक क्षेत्रअन्तर्गत सञ्चालित उद्योगमा श्रम ऐन नलाग्ने फैसला गरेको थियो । यसअनुसार बैंक, वित्तीय संस्था जस्ता प्रतिष्ठान श्रम ऐनले तोकेको प्रतिष्ठानको परिभाषाभित्र नसमेटिने व्याख्या भएको थियो । आदेशको पूर्णपाठले नजिर स्थापित भएकाले नवीकरण गर्न नसक्ने भन्दै कार्यालयले फर्काएको युनियनका अध्यक्ष तुल्सी दाहालले बताएका छन् ।
सर्वोच्चको फैसलापछि कर्मचारी युनियनहरूले बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघ नेतृत्वसँग भेटेर छलफल गरेका थिए । संघले श्रमिकले पाउँदै आएको अधिकार कटौती नगर्ने र निरन्तर रूपमा संगठनहरू सामूहिक सौदाबाजीमा रहनसक्ने उल्लेख गरेको थियो । अहिलेसम्म बैंकहरूले सोहीअनुसार व्यवहार गर्दै आएका पनि छन् । तर, रजिस्टर्ड कार्यालयले नै यसको दर्ता गर्न छोडिदिएको हो ।