March 7th, 2025

औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुने फाइदाहरु


बैंकिङ खबर/ विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन
बमोजिम सजाय पनि हुन्छ ।
औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुनेफाइदा

(१) औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ ।
(२) यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
(३) बैंक-वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(४) बैंक-वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
(५) रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।
(६) वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण
कारोवार गरेको हुनुपर्छ ।

विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्नेकुराहरू
 विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।
 विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने ।
 विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।
 यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदा

आम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने ।

विप्रेषणको उचित प्रयोग

विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन । विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ ।

विप्रेषणकै आम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ । बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ ।

(क) शिक्षा

शिक्षाले सीप आर्जन गरी भविष्यमा थप आय सिर्जनामा मद्दत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानीको क्षेत्र हो ।

(ख) उत्पादनमूलक क्षेत्र

उत्पादनमा वृद्धि गराउने साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, वस्तुपालन, सीप आर्जन, बचत वा शेयर खरिद आदि ।

(ग) लगानी

जोखिम कम भएको क्षेत्रमा लगानी, साना व्यापार वा व्यवसाय, बैंङ्क वा वित्तीय संस्थामा बचत वा शेयर आदि ।

(घ) अनावश्यक खर्च

चुरोट, रक्सी, पानपराग, जुवा, तास आदि खेलेर गरेको खर्च ।

(ङ) अनुत्पादक खर्च

आवश्यकताभन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइल, रिचार्ज, देखावटी सामान आदिमा गरेको खर्च ।

(च) अनावश्यक विलासिताका वस्तु

नचाहिएको अवस्थामा मोटरसाइकल, टि.भि., फोन, ल्यापटप, आवश्यकभन्दा बढी विवाह, भोज, चाडवाड आदि ।