बैंकिङ खबर/अमेरिकाको न्यूयोर्कको मुख्यालयमा रहेको विश्वको ठूलोमध्येको एक सिटी बैंकले एकजना ग्राहकको खातामा ८१ ट्रिलियन डलर अर्थात् नेपाली रुपैयाँ ११.२५९ पद्म जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ ।
यस बैंकमा भएको यो गल्ती फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको हो । एक ग्राहकको खातामा २८० डलर जम्मा गरिदिनुपर्नेमा कर्मचारीको गल्तीले ८१ ट्रिलियन डलर जम्मा गरिएको थियो । यो गल्ती करिब ९० मिनेटपछि अर्का एक कर्मचारीले पत्ता लगाएका थिए । त्यो रकम फिर्ताको सबै प्रक्रिया पूरा गर्न घण्टौं लागेको थियो । ती ग्राहकले आफ्नो खातामा जम्मा भएको रकमबाट एक डलर पनि खर्च गरेका भने थिएनन् ।
यो घटना गत सन् २०२४ को अप्रिल महिनाको हो । जुनियर कर्मचारीले रकम जम्मा गरिदिनुअघि तयार पारेको विवरण माथिल्लो पदका अर्का एक कर्मचारीले पनि हेरेका थिए । तर उनले पनि त्रुटी पत्ता लगाउन सकेनन् । ग्राहकको खातामा अस्वाभाविक परिमाणमा रकम जम्मा भएको थियो ।
सिटी बैंकले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार ‘निगरानी नियन्त्रण’का कारण तुरुन्तै दुई लेजर खाताहरुबीचको इनपुट त्रुटी पहिचान भएको थियो । खातामा जम्मा भएको रकम फिर्ता गरिएको थियो । यस घटनाले बैंक र ग्राहकमा कुनै असर नपरेको सिटी बैंकले जनाएको छ ।
सिटी बैंक अमेरिकाको बहुराष्ट्रिय वित्तीय सेवा कम्पनी सिटी ग्रुपले सञ्चालन गर्दछ । यसको मुख्यालय अमेरिकाको न्यूयोर्कमा छ । सिटी बैंक विश्वका सबैभन्दा ठूला बैंकमध्येमा पर्दछ । यसका शाखा १६० भन्दा बढी देशमा छन् ।
फाइनान्सियल टाइम्सका अनुसार गत वर्ष सिटीमा एक डलर वा सोभन्दा बढी करिब १० नियर मिसेसको अवस्था (वित्तीय प्रणाली वा अन्य प्रक्रियामा ठूलो गल्ती हुन लाग्दा अन्ततः जोगिएको) थियो ।