बैंकिङ खबर/ वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब नाघेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २ गतेसम्म २० वटा वाणिज्य बैंकको कुल निक्षेप बढेर ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। यो अघिल्लो दिनको तुलनामा ५ अर्ब रुपैयाँले बढेको छ। फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा वाणिज्य बैंकहरुमात्रै हिस्सा ८९.१७ प्रतिशत रहेको छ। अन्य बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा १०.८३ प्रतिशतमात्रै रहेको छ। फागुन २ गतेसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ।
फागुन २ गतेसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन अघिल्लो दिनको तुलनामा स्थिर हो। वाणिज्य बैंकहरुको मात्रै कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा अन्य बैंक तथा वित्तीय संस्थाको ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ।
बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशत तल नै रहेको छ। तथ्यांकअनुसार फागुन २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७९.४८ प्रतिशत रहेको छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ।