
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नेपालमा वित्तीय पहुँचमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जनाएको छ । वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै राष्ट्र बैंकले देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहल स्वरुप २०८१/१०/२८ गते बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको जनाएको छ ।
२०८१ पुस मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकहरूको शाखा संख्या ५,०७८ र विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११,५४५ पुगेको छ । यसका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २,५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ ।
यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको राष्ट्र बैंकले जनाएको छ ।




