बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले फागुन ४ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट फेरि पैसा खिच्न लागेको हो।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता खिच्दा अर्थतन्त्र गतिशिल नहुने बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकले तरलता खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशील बनाउन सक्दैन् ।’ पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दामाथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको समेत बताए ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनासम्म निक्षेप संकलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२५१४ अर्ब १५ करोड गरी कुल रु.१४००० अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जनाएको छ । रु.८० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद रु.१९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो। समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ५२ करोड खुद खरिद गरी रु.३४० अर्ब ६ करोड तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ७५ करोड खुद खरिद गरी रु.३६६ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो। समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९० करोड बिक्री गरी रु.२५६ अर्ब ५३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२४२ अर्ब ८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।