बैंकिङ खबर / सामान्यतया ४१५ रुपैयाँ खर्च गरेर बजारबाट सामान किन्दा उपभोक्ताले त्यति नै मूल्यको वस्तु घर लैजान्छन् । तर धनुषाका गौरीशंकर पण्डितका लागि भने ४१५ रुपैयाँको किनमेल अप्रत्याशित रूपमा १० लाख रुपैयाँको उपहार जित्ने अवसर बन्यो ।
धनुषाको नगराइन नगरपालिका ९, घोरघास घर भएका पण्डित हाल ललितपुरमा बस्दै आएका छन्। उनले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् । पण्डितले गत कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए। उक्त सामानको भुक्तानी उनले डिजिटल माध्यम ईसेवाबाट गरेका थिए । सामान्य किनमेलका क्रममा गरिएको यही भुक्तानी उनका लागि भाग्य चम्काउने माध्यम बन्यो । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत गरिएको उपहार छनोटमा उनी १० लाख रुपैयाँको पुरस्कार विजेता बने । एउटा सामान्य उपभोक्ताले दैनिक उपभोग्य वस्तु खरिद गर्दा गरेको डिजिटल भुक्तानीले उनलाई लाखौँ रुपैयाँको पुरस्कार दिलाएको छ । यसले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउने उद्देश्यसहित सञ्चालन गरिएका कार्यक्रमको आकर्षणलाई पनि देखाएको छ ।